ओखलढुंगा । चिसंखुगढी गाउँपालिका ६ भदौरे रानाटोलका विहुरमान आलेले केहि महिना अघि घर नजिकै झन्डै ७० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरे । अहिले पानी परेको समयमा उनको घरको छानाबाट झर्ने पानी पाइपबाट सिधै पोखरीमा सङ्कलन हुन्छ ।
हिउँदमा प्लाष्टिकको पोखरीबाट सहजै सिँचाइ सुविधा हुने भएकोले आलेले आकाशे पानीको जोहो गर्न यो प्रविधि अपनाएका हुन । लामो समय देखि सिंचाईको समस्या झेल्दै आएका उनी अब आउने सुख्खा समयमा भने तरकारी बालीको सिंचाईका लागि विगतको जस्तो समस्या नहुनेमा ढुक्क देखिन्छन ।
“पानी नभएको समयमा सागसब्जी, फलफुल, बोटविरुवालाई र पशुप्राणीलाई समेत यो पानीले थुप्रो सहयोग गरेको हुन्छ” उनले भने । आफुहरुको थुप्रै आवश्यकता पोखरीको पानीले पुरा गर्ने देखिएको उनले बताए ।
उनि जस्तै रानाटोलकै अर्का कृषक देवबहादुर आलेमगरले पनि प्लाष्टिक पोखरी बनाएर आकाशे पानी जम्मा गरेका छन । विभिन्न किसिमका तरकारी र फलफुलको समेत खेती गर्दै आएका उनको पोखरीमा अहिले आकाशे पानी टम्म भरिएको छ ।
पोखरीमा जम्मा भएको पानीले सिंचाईमा मदत पुग्ने र उत्पादनमा समेत बृद्धि हुने कुरामा उनि आशाबादी देखिए । “अहिले चाँही यो संकलन मात्रै हो, आफुलाई प्रयोग गर्न अहिले बर्षामा नजिकै पानी छँदैछ पछिको लागि जम्मा गरिएको हो”उनले भने । आफुले लगाएको सुन्तला,आँप,लिची,आलुमा पानी लगाउन सजिलो हुने आलेमगरले बताए ।
उनिहरु जस्तै साविक भदौरे गाविस ४ का झन्डै ५५ घरधुरीले आफ्नो घर नजिकै प्लाष्टिक पोखरी निर्माण गरेर आकाशे पानी संकलन गरेका छन । यो क्षेत्र अति सुख्खाग्रस्त क्षेत्र भएकाले हिउँदको याममा खानेपानी र सिंचाईको लागि यहाँका स्थानीयले निकै कष्ट भोग्दै आएका छन ।
तर यस वर्ष भने स्थानीय सरकारले दातृ निकायको सहयोगमा रेईन वाटर हार्भेष्टिङ कार्यक्रम ल्याएपछि अनुदानमा जस्ताको छाना भएका स्थानीयले प्लाष्टिक पोखरी बनाएर पानी संकलन गर्न थालेका हुन । खरको छानो भएका स्थानीयलाई भने प्लाष्टिकको टयांकी उपलब्ध गराएर आकाशे पानी संकलनमा जोड दिइएको छ ।
करेसाबारी खेतीबाट स्थानीय नागरिकको जिविकोपार्जनमा सुधार ल्याउने उदेश्यले यो कार्यक्रम ल्याईएको चिसंखुगढी गाउँपालिका ६ का वडा अध्यक्ष बलराम कट्वालले बताए । विशेष गरी यो क्षेत्र कालोमास, सेतोमास, बोडी, भटमासलगायतका दलहनबाली खेतीका लागि उपयुक्त मानिन्छ ।
त्यस्तै अधुवा,बेसार,गोलभेँडा, काउलीलगायतका कृषीउपज पनि यहाँ प्रशस्त मात्रामा उत्पादनको सम्भावना रहेको छ । तर सिंचाई अभावकै कारण राम्रो उत्पादन गर्न नसकिरहेका यहाँका किसानलाई प्लाष्टिक पोखरीले भने राहत मिल्ने देखिएको छ ।