ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ३ चनौटेका कृषक भिमबहादुर खत्रीले ३ महिना अघि गड्यौला मल उत्पादनका लागि आवश्यक संरचना तयार गरे । कृषी ज्ञान केन्द्रले मल उत्पादनका लागि झन्डै १ किलो गड्यौला उपलब्ध गराएपछि उनले मल उत्पादन समेत सुरु गरे ।
गड्यौला मल उत्पादनका लागि यसअघि नै आवश्यक जानकारी र तालिम लिईसकेका खत्रीको गोठमा अहिले १ सय किलो भन्दा बढि गड्यौला मल उत्पादन भैसकेको छ भने उत्पादनको क्रम जारी छ । कृषी ज्ञान केन्द्रका कृषी प्राविधिकहरुले रासायनिक मलभन्दा गड्यौला मल प्रयोग गर्दा बालीनाली राम्रो हुने र स्वास्थ्यमा समेत असर नगर्ने भएकोले गड्यौला मल उत्पादन गर्न सल्लाह दिएको र सोहि अनुशार आफुले पनि मल उत्पादनलाई प्राथमिकता दिएको खत्रीले बताए ।
सिद्धिचरण नगरपालिका ३ कै चनौटेजंगलेकी अर्की कृषक कुन्तादेवी दाहालले पनि गड्यौला मल तयार गरिरहेकी छन । गत असारबाट उत्पादन सुरु गरेकी उनको गोठमा अहिले करिब १५ किलो मल उत्पादन भैसेकेको छ । उत्पादित मल आफुले लगाएको अन्न तथा तरकारी बालीमा लगाउने र बाँकी रहेको मल मागको आधारमा बिक्री गर्ने उनको योजना छ ।
खत्री र दाहाल जस्तै चनौटे र जंगलेका १० जना कृषकले यसै वर्षबाट गड्यौला मल उत्पादन सुरु गरेका छन । स्थानीय महिला कृषक समुहको मागको आधारमा कृषी ज्ञान केन्द्रले गड्यौला मल उत्पादन कार्यक्रम सञ्चालन गरेको हो । अर्गानिक गड्यौला मल उत्पादन भएपछि रासायनिक मलको आवश्यकता नहुने हुँदा यो मलको उत्पादनमा कृषकको आर्कषण बढेको छ ।
आफ्नो गोठमा उत्पादन भएको गड्यौला मल तरकारी बालीमा प्रयोग गर्ने तयारी गरिएको चनौटे जंगलेकै अर्की कृषक सिता परियारले बताईन । रासायनिक मलको प्रयोगले तत्कालका लागि बालिनालीको उत्पादन राम्रो हुने गरेको भएपनि माटोको उर्बराशक्ति भने घटाउँदै जान्छ ।
माटोको उर्वर शक्तीलाई गतिशील राख्न र उत्पादन बढाउन रासायनिक मलको विकल्प खोजिएको कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँले बताए । बालानालीमा रासायनिक मलको बढ्दो प्रयोगबाट मानविय स्वास्थ्यमा समेत असर गरिरहेको छ ।
यसलाई न्यूनिकरण गर्न गड्यौला मल गतिलो विकल्प बन्न सक्छ । त्यसकारण गड्यौला मलको उत्पादन र प्रयोगलाई बढाउन सम्बन्धित निकायले थप सक्रियता देखाउन आवश्यक छ ।