ओखलढुंगा । सुनकोशी नदिमा आएको बाढीले जिल्लाको चम्पादेवी गाउँपालिका २ बोप्राटारको १० घर तथा गोठमा क्षति पुगेको छ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण असोज १२ गते करिब ११ बजेको समयमा सुनकोशी नदिमा आएको बाढीले उक्त घरहरुमा क्षति पुगेको हो ।
घटना केहि दिन अगाडीको भएपनि आज (बिहिबार) विहान ५ः३० बजेतिर प्रहरी चौकी पलापुलाई घटना बारे जानकारी प्राप्त भएको थियो । जानकारी पश्चात प्रहरी चौकी पलापुबाट खटिएको टोलीले घटनास्थल पुगेर बुझ्दा १० घर तथा गोठमा क्षति भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुशार बाढीले ३ वटा घर र २ वटा गोठ पुर्ण रुपमा बगाएको छ । त्यस्तै अन्य ५ घरभित्र बाढी पस्दा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन बालुवाले पुरिएको बताईएको छ ।
बाढीका कारण घर,मतान, गोठ र त्यसभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन समेतमा क्षति पुग्दा ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाढीबाट मानविय तथा पशु चौपायामा भने क्षति नभएको बताईएको छ । क्षति बारे थप विवरण बुझ्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।