• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हरेक वर्ष विभिन्न किसिमका महंगा महंगा स्वास्थ्य उपकरण खरिद गर्ने गरिन्छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भन्दै सरकारले पनि उपकरण खरिदका लागि भनेर बर्षेनी अबौँ रकम खर्च गर्दै आएको छ। तर राज्यकोषबाट करोडौँ रकम खर्चेर अस्पतालहरुमा खरिद भएका कतिपय उपकरणहरु भने दक्ष जनशक्ति र विविध कारणबस प्रयोगमा आउनै सकेका हुँदैनन् ।

हचुवाका भरमा उपकरण खरिद गर्ने र उपकरण सञ्चालनका लागि आवश्यक अन्य पक्षको ध्यान नदिने प्रवृत्ती बढेको जनगुनासो बढ्दो छ। यसैको एउटा उदाहरणको रुपमा लिन सकिन्छ जिल्ला अस्पताल ओखलढुंगा रुम्जाटारमा रहेको भेन्टिलेटर सहितको आईसियु बेड ।

यस अस्पतालका लागि झन्डै ३ वर्ष अघि २ वटा भेन्टिलेटर सहितको ५ वटा आईसियु बेड खरिद गरिएको थियो । केन्द्र सरकारको बजेटबाट खरिद गरिएका यी बेडलाई लामो समयसम्म त्यसै थन्क्याईयो । आवश्यक अन्य उपकरण सहित बेड जडान गरिएको पनि लामो समय भैसकेको छ । तर दक्ष जनशक्ती अभावमा यी बेड अहिलेसम्म प्रयोगमा  भने ल्याउन सकिएको छैन । बेडको सबै सेटअप भैसकेको र मेसिन पनि चल्ने र तालिम प्राप्त जनशक्ति नहुँदा त्यसलाई प्रयोगमा भने ल्याउन नसकिएको जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा.साजन दुवालले बताए ।

जिल्ला अस्पतालमै सुविधा सम्पन्न अपेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुशार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पिसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन ।

अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित ब्यवस्थापन गरि प्रयोगमा ल्याउन नसकिँदा सेवाग्राहीहरु भनेजस्तो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन । उपकरण खरिदमा राज्यले लगानी गर्ने तर प्रयोगमा ल्याउन भने ध्यान नदिने गरेको स्थानीय रोशन कट्वालले बताए । अस्पतालमा भएका उपकरणहरु प्रयोगमा नल्याईँदा नागरिकले चाहेको स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाई छ ।

जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरु खरिदका लागि प्रदेश र केन्द्र सरकारबाट बजेट प्राप्त हुन्छन । तर उपकरण खरिद गरिएपनि त्यसलाई सञ्चालन गर्न भने सँधैजसो जनशक्ती अभाव हुने गरेको पाईन्छ । अस्पतालमा भएका उपकरणहरु प्रयोगमा ल्याउन सम्बन्धित निकायले भने आवश्यक पहल गरिरहेको बताउने गरेको छ ।

अस्पताल ब्यवस्थापन समितिकी संयोजक तथा जिल्ला समन्वय ओखलढुंगाका उपप्रमुख तारादेवी कार्कीले उपकरण प्रयोगमा ल्याउन नसकिएको स्वीकार गरिन । उनले समस्या समाधानका लागि प्रदेश सरकार संग आवश्यक समन्वय गरिने बताईन । प्रदेश सरकार जनशक्ति ब्यवस्थापनका लागि सकारात्मक देखिए थन्किएका उपकरण सकेसम्म चाँडै प्रयोगमा ल्याईने उनको भनाई छ ।

जिल्ला अस्पताल आम नागरिकको आवश्यकता र पहुँचको अस्पताल मानिन्छ । तर एकै अस्पतालमा करोडौँ रकमको उपकरण भएर पनि प्रयोगमा ल्याउन नसक्नु दुखद विषय हो । त्यसकारण अस्पतालमा उपकरण खरिद संगै दक्ष जनशक्तिको ब्यवस्थापन गरि त्यसलाई प्रयोगमा ल्याउने र नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सम्बन्धित निकाय गम्भीर बन्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!