• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा। पछिल्लो समय रुम्जाटारमा उत्पादित राडीपाखीहरूको माग देश विदेशमा पनि हुने गरेको पाइन्छ । रुम्जाटारको राडीपाखी नेपालमै सुन्दर, टिकाउ र बलियो मानिन्छ । तर केही समय पहिलेसम्म रुम्जाटारमा महिला उद्यमका रूपमा सञ्चालित करिब तीन–चार दर्जनको हाराहारीमा रहेका राडीपाखी उद्योगहरू हाल लोपोन्मुख अवस्थामा रहेको छ ।

पछिल्लो पुस्ताको यसतर्फ ध्यान नजाँदा र उद्योग सञ्चालन गर्दै आएकाहरु पनि जिल्ला बाहिरिन थालेपछि लोप हुने अवस्थामा पुगेको हो । आफुले लामो समयदेखी राडिपाखी उद्योग संचालन गर्दै आएको भएपनी आफ्नै छोरानातीको त्यसतर्फ ध्यान नै नगएको स्थानीय उद्यमी बिष्णुमाया गुरुङले बताइन ।

पहिलेको तुलनामा सङ्ख्यात्मक हिसाबले अहिले राडी धेरै नै उत्पादन भएको छ तर उत्पादन गर्ने उद्यमी भने घटेको अर्की उद्यमी पदमकुमारी गुरुङको भनाइ छ । लामो समयदेखी राडीपाखी उत्पादन गर्दै आएकाहरु कोहि बेलायत र कोहि काठमाडौं पलायन भएपछि राडिपाखी उद्योग न्यून हुँदै गएको उनले बताइन ।

रुम्जाटारमा राडीपाखी समूह अन्तर्गत कुसन, सिङ्गल राडी, डबल राडी, चारपाटे राडी, पाँचपाटे राडी आदि बुन्ने गरिन्छ । राडीपाखी बुन्नका लागि कच्चा पदार्थका रूपमा भेडाको ऊन चाहिने र ऊनलाई गर्वे, छार्वे, कार्तिके र चैते गरी चार भागमा विभाजन गरिन्छ । राडीपाखी तथा ऊनजन्य सामग्री तयार गर्नका लागि ऊनलाई धुने वा सुकाउनेदेखि तयारी सामग्रीलाई प्रयोग गर्न माड्दै मिहिन बनाउनेसम्मका करिब नौ चरण पार गर्नुपर्ने हुन्छ ।

यस्तो झन्झटिलो कार्य भएका कारण युवापुस्ताको अरुची हुँदा अहिले न्यून मात्रामा मात्र राडीपाखी उद्योग सञ्चालनमा छन । अहिलेका युवापुस्ता बरु बिदेश जान तयार हुने तर यस्तो झन्झटिलो काम गर्न जागर नदेखाउने भएको सोही ठाउँकि अर्की उद्यमी जगतमायाँ गुरुङले बताइन ।

पछिल्ला युवा पुस्ताले राडीपाखी उद्योग सञ्चालनमा चासो नदिनु, ऊनको स्रोतको रूपमा रहेका भेडीगोठ घट्दै जानु,भेडापालनलाई व्यवसायका रूपमा लैजान नसकिनुजस्ता कारणले रुम्जाटारको गौरव र महिला उद्यमीको पौरखका रूपमा मानिने रुम्जाटारको राडीपाखी उद्योग संरक्षण र प्रवर्धनको पर्खाइमा छ ।

राज्यका तीनै तहका सरकारबाट भेडापालक किसानलाई भेडा पालन गरी ऊनीजन्य उत्पादनका लागि प्रोत्साहन र सहयोग गर्ने, रुम्जाटारलाई एक गाउँ एक उत्पादन अन्तर्गत विशेष गरी राडीपाखी उत्पादनको हब बनाउन सकिए मात्र राडीपाखी उद्योगले निरन्तरता पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!