• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ मानेडाँडा बिब्लाटेका कृषक ङिमानुरी शेर्पाले पछिल्लो ३ वर्षदेखी ब्याबसायिक किबी फल उत्पादन गरिरहेका छन । झन्डै १५ रोपनी क्षेत्रफलको जमिनमा किबी खेती गर्दै आएका उनले गत वर्ष १७ क्विन्टल किबी उत्पादन गरे । उत्पादन भएका मध्ये करिब ७ क्विन्टल मात्रै बिक्री भयो । शेर्पाले केहि किबी साथीभाई र आफन्तलाई बाँडे भने केहि सडेर त्यत्तिकै खेर गयो ।

यस वर्ष पनि उनको फर्ममा करिब २५ क्विन्टल जति किबी उत्पादन भएको छ । तर उत्पादन भएको किबी कहाँ लगेर बिक्री गर्ने ? र कसरी लगानी उठाउने ? भन्ने चिन्तामा छन उनि । बजार ब्यबस्थापन राम्रो नहुदा उत्पादन भएको आधा जति किबी त्यसै खेर जाने गरेको उनले दुखेसो पोखे । उत्पादन भएको सबै किबी बिक्री भए आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।

उनकै जस्तो चिन्ता सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलाका अर्का कृषक मनकुमार राईलाई पनि छ । व्यावसायिक रुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई फल लाग्न थाल्दासम्म रोगकीरा लाग्ला भन्ने तनाव थियो । तर अहिले फल पाक्न थालिसकेपछि बजार नपाउने हो कि ! भन्ने चिन्ताले पिरोलिरहेको छ । बिक्रीका लागि बजारसम्म गाडी भाडा तिरेर लानु पर्ने र बिक्री नभए फेरि गाडी भाडा तिरेर त्यसै फर्काएर ल्याउनु पर्नेजस्ता समस्या हुने गरेको उनले बताए ।

कृषी ज्ञान केन्द्रका अनुशार जिल्लाका करिब ५ हेक्टर क्षेत्रफलमा किबी खेती गरिँदै आएको छ । सोहि क्षेत्रफलमा गत वर्ष करिब ८ मेट्रिकटन किबी उत्पादन भएको थियो । यहाँ उत्पादन भएका धेरैजसो किबीले प्रतिकिलो १ देखि २ सय रुपैयाँसम्म मुल्य पाउने गरेको छ । किबीले बजार र उचित मुल्य नपाउँदा यहाँका दर्जन बढी किसान निरास छन ।

यता जिल्लामा उत्पादित किबीको बजारिकरणका लागि आवश्यक पहल र समन्वय गर्ने कुरामा सचेत रहेको कृषी ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिकाराम बानियाँले बताए । कृषकले उत्पादन गरेको किबी बजारीकरणका लागि सम्बन्धित प्रदेश सरकार संग समन्वय गरिने उनको भनाइ छ ।

जिल्लामा उत्पादन भएको किबीलाई जुस, वाइन, जामजस्ता पेय तथा खाद्य पदार्थका रुपमा प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै जिल्लाकै अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ । त्यसकारण किबीको विस्तार संगै बजारीकरण, प्रशोधन र भण्डारणमा समेत सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!