ओखलढुंगा । जिल्लाका धेरै क्षेत्र सुख्खा ग्रस्त बन्दै गएका छन । बढ्दो जलबायु परिवर्तण संगै भुकम्प, आगलागी र बन डढेलो जस्ता प्राकृतिक बिपत्तीका कारण पानीका मुहानहरु सुख्दै जाँदा जंगली जनावरलाई समेत पिउने पानी र आहाराको अभाव हुँदै गएको छ ।
त्यसकारण एकातर्फ जंगली जनावरले मानव बस्तीमा पसेर हैरानी थपिरहेका छन भने अर्को तर्फ बन डढेलोको जोखिम पनि झनझन बढ्दै गएको छ । यी नै समस्याहरुलाई मध्यनजर गर्दै डिभिजन बन कार्यालय ओखलढुंगाले भने जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी बनाएर समाधानको प्रयास थालेको छ ।
सुख्खापनका कारण गत आर्थिक वर्षमा मात्रै जिल्लाका विभिन्न स्थानमा दर्जनौँ बन डढेलोका घटना घटे । डिभिजन बन कार्यालयका अनुशार डढेलोले करिब ५ सय २७ हेक्टर क्षेत्रफलको बनमा क्षति पुग्यो । बन डढेलोबाट विभिन्न किसिमका जडिबुुटी, वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थान नष्ट भए । यस्तो प्राकृतिक विपत्ती बर्षेनी उकालो चढ्ने क्रम जारी छ ।
पछिल्ला वर्षहरुमा बढ्दै गएको बन डढेलो र सुख्खापन रोकथामका लागि अहिले भने डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी बनाउन थालेको हो । रिचार्ज पोखरीले मानव र जंगली जनावर दुबैलाई फाईदा पुग्ने डिभिजन बन कार्यालय ओखलढुंका निमित्त प्रमुख रितेष भुषण बस्नेतले बताए । रिचार्ज पोखरीमा पानी जम्मा भएपछि बन क्षेत्रमा लगाईका बोटविरुवालाई पनि बाँच्ने आधार पाउने उनले बताए ।
चालु आर्थिक वर्षको जलबायु परिवर्तणमा जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्रगत बन कार्यालयले जिल्लाको ३ स्थानीय तहमा रिचार्ज पोखरी बनाउन थालेको छ । सिद्धिचरण नगरपालिकाका २, चिसंखुगढी गाउँपालिकाका ५ र मानेभञ्ज्याङ गाउँपालिकाका ३ गरि जम्मा १० सामुदायिक बनमा रिचार्ज पोखरी निर्माणको योजना अघि सारेर काम थालिएको छ । यी पोखरीहरु बहुउपयोगी साबित हुने नागरिकले अपेक्षा गरेका छन ।
सिद्धिचरण नगरपालिका १ तलुवा स्थित हलेसी दर्शन सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चक्रबहादुर श्रेष्ठले यस बनमा बनाईएको उक्त पोखरीले स्थानीयलाई राहत मिल्ने बताए । बनमा पिउने पानीको अभाव हुँदा बन्यजन्तुहरु गाउँबस्तीमा पसेर दुख दिईरहेको अवस्था रहेको भन्दै अब यस्ता समस्या समाधानमा सहयोग मिल्ने उनको भनाई छ ।
यता सिद्धिचरण नगरपालिका ५ सानीटारकी स्थानीय अनिता दाहालले सडक भन्दा अलि माथी नै पोखरी बनाईएकाले आगलागी भएको अवस्थामा दमकलमा पानी भर्न समेत सहज हुने बताईन । यी पोखरीहरु निर्माणका लागि कार्यालयले प्रति पोखरी २ लाख ३० हजार उपलब्ध गराएको छ भने स्थानीय वन समूह र समुदायको १० प्रतिशत लगानी रहने छ । पोखरीमा विशेष गरी वर्षातको पानी जम्मा हुनेछ ।
रिचार्ज पोखरीले बनमा हुने डढेलो न्यूनिकरण, तल्लो भागमा रहेका पानीका मुहानहरुको संरक्षण तथा बृद्धिमा मदत पुग्ने, जंगली जनावरलाई पिउने पानीको सहज आपुर्ती हुने र पोखरी आसपासमा चिस्यान कायम भई बोटविरुवालाई हुर्कन मदत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने कार्यालयको आशा छ ।