ओखलढुंगा । Gen-Z पुस्ताको आन्दोलनको क्रममा धेरै अमूल्य बालबालिकाहरूको मृत्यु भएको दु:खद घटनाप्रति सिद्धिचरण नगरपालिका, ओखलढुंगाका सम्पूर्ण कर्मचारी परिवारले गहिरो शोक व्यक्त गरेका छन् । उनीहरूले दिवंगत बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार Gen-Z पुस्ताको आन्दोलनमा सरकारले धेरै जना बालबालिकाको प्राण जाने गरी गरेको अमानवीय र रक्तपातपूर्ण व्यवहारप्रति सिद्धिचरण नगरपालिकाका कर्मचारी परिवार घोर भर्त्सना प्रकट गरेका छन् । आन्दोलनका क्रममा बालबालिका तथा युवामाथि अस्वाभाविक अस्त्रशस्त्र प्रयोग गरी भएको सामाजिक स्वास्थ्यमा देखिएको मिडियामा प्रसारित भयावह दृश्यले राज्यले आफ्ना नागरिकलाई हत्या गर्ने अभिप्राय लिएको प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्मचारी परिवारले यस प्रकारको दु:खद घटना र अमानवीय कृत्यले सम्पूर्ण नागरिक आहत भएको स्पष्ट गर्दै सरकारको यस्तो कुकृत्यप्रति खेद प्रकट गरेका छन् । साथै, यस घटनामा संलग्न जिम्मेवार निकायहरूलाई कानूनी कठघरामा उभ्याउन जोडदार माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, सरकारको घमण्डपूर्ण रवैया र जनविरोधी व्यवहार अस्वीकार्य भएको स्पष्ट पार्दै सिद्धिचरण नगरपालिकाका कर्मचारी परिवारहरूले सदैव जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले नगरपालिका परिवारको तर्फबाट पूर्णतः नैतिक तथा आत्मिक सहयोग गर्दै अन्य सबै सरकारी कर्मचारी परिवारलाई समेत यस आन्दोलनमा समर्थन जनाउन अनुरोध गरेका छन् ।
यसै क्रममा, सिद्धिचरण नगरपालिकाका सम्पूर्ण कर्मचारी परिवारले Gen-Z पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेका छन् ।


