ओखलढुंगा । मोलुङ गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि (वडा सदस्य) लाई ४ दिने क्षमता विकास तालिम दिईएको छ । दलित महिला केन्द्रको ‘शि लिड्स’ परियोजनाले गाउँपालिकाका १२ जना महिला वडा सदस्यलाई क्षमता विकास तालिम दिएको हो । २०७९ को स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित भएका महिला वडा सदस्यहरुलाई पालिका केन्द्रमै तालिम दिईएको परियोजनाले जनाएको छ ।
गत कार्तिक १ गतेबाट सुरु भएको प्रारम्भीक प्रशिक्षण मोड्युल १ आज (शुक्रबार) समापन गरिएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बुना बिकले जानकारी दिईन । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राई लगायतको सहभागिता रहेको थियो । तालिम समापनको अवशरमा बोल्दै अध्यक्ष राईले नेतृत्व चाहनेले परिवर्तण आफैबाट सुरु गर्नुपर्ने बताए ।
महिला जनप्रतिनिधिका लागि यस्ता खाले तालिम तथा प्रशिक्षण एकदमै आवश्यक रहेको भन्दै राईले गाउँपालिकामा यो परियोजना लागु गरिएकोमा दलित महिला केन्द्र र परियोजनालाई धन्यवाद समेत ज्ञापन गरे । विशेष गरी महिलाहरुको राजनीतिमा अर्थपुर्ण सहभागिताका लागि ‘शि लिड्स’ ले विभिन्न चरणमा क्षमता विकास तालिम प्रदान गर्दै आएको छ ।
यसैबिच केहि दिन अघि मात्रै सदरमुकाममा यसअघि परियोजना लागु भएका ४ स्थानीय तह सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकाका निर्वतमान महिला जनप्रतिनिधिलाई पैरबी सम्बन्धी प्ररिक्षण दिएको थियो । जसको सहजीकरण मानेभञ्ज्याङ गाउँपालिकाका निर्वतमान उपप्रमुख सविता राईले गरेकी थिईन ।
प्रशिक्षणले उनिहरुलाई विभिन्न मुद्धामा वकालत गर्नुको साथै लैंगिक विभेदको अन्त्य गर्नका लागि समेत सहयोग मिल्ने अपेक्षा गरिएको परियोजनाले जनाएको छ ।