ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारी दिएका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल खसेको सदर मतको १० प्रतिसत मत प्राप्त गर्न नसकेका ६ प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्यका उम्मेदवारको जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका अनुशार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले जनही रु १० हजार र प्रदेश सभा सदस्यका उम्मेदवारले जनही ५ हजार जमानत (धरौटी) राख्नुपर्ने ब्यवस्था छ । त्यस्तो जमानत उम्मेदवारले खसेको सदर मतको १० प्रतिसत मत ल्याउन नसकेको खण्डमा जमानत जफत हुने ब्यवस्था अनुशार जफत गरिएको निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ८ मध्ये जनता समाजवादी पार्टी (जसपा) का जुद्धबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शोभा कार्की, मंगोल नेशनल अर्गनाइजेशनका विर्जबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) का डिकप्रसाद बास्तोला, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ङिमा ल्हमु शेर्पा गरी ६ जनाको रु ६० हजार जमानत जफत भएको न्यौपानेले जानकारी दिए ।
यस्तै प्रदेश सभा क्षेत्र नं. (१) मा विभिन्न दलका ५ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको जमानत जफत भएको छ । जसमा जनता समाजवादी पार्टी (जसपा) का खेमराज खड्का, मंगोल नेशनल अर्गनाईजेशनका लाक्पा शेर्पा र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीको गरी जम्मा रु १५ हजार जमानत जफत भएको छ ।
प्रदेश सभाकै क्षेत्र नं. (२) मा विभिन्न दल र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएकोमा ५ जनाको जमानत जफत भएको छ । निर्वाचन कार्यालयका अनुशार जनता समाजवादी पार्टीका शान्तबहादुर बि.क, मंगोल नेशनल अर्गनाईजेशनका बुद्धिमान राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) का पुष्पराज पोखरेल, हाम्रो नेपाली पार्टीका हिराबहादुर कट्वाल र स्वतन्त्र उमेदवार टंकनाथ अधिकारीको समेत गरी जम्मा २५ हजार रुपैयाँ जमानत जफत भएको छ ।
जम्मा २० जना उम्मेदवार मध्ये जमानत जोगाउनेमा प्रतिनिधि सभा तर्फ गठबन्धनबाट निर्वाचित नेपाली कांग्रेसका रामहरी खतिवडा र उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यज्ञराज सुनुवार छन ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. (१) मा गठबन्धनबाटै निर्वाचित नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार र उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बीरबाबु गुरुङ र क्षेत्र नं. (२) मा गठबन्धनबाटै निर्वाचित माओवादी केन्द्रका बाबुराम गौतम र उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्का रहेका छन ।