ओखलढुंगा । नाताले भान्जा पर्ने ५ बर्षिय नाबालकको हत्या आरोपमा १२ बर्षिय मामालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ बर्षिय नाबालक साङ्गे शेर्पाको हत्या अभियोगमा उनका १२ बर्षिय मामा पक्राउ परेका हुन ।
गत शुक्रबार घरबाट खेल्न बाहिर निस्किएका नाबालक शनिबार साँझ घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो ।
सुरुमा उनि खेल्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने आंकलन गरिएको भएपनि शरिरका विभिन्न भागमा कुटपिट भएको जस्तो चोटपटक देखिएपछि प्रहरीले हत्या भएको हुनसक्ने आशंका गरेको थियो । थप प्रमाण र घटनाको छानबिन गर्ने क्रममा उनकै मामा पर्ने १२ बर्षिय बालकले घटना घटाएको खुल्न आएको थियो ।
घटनामा संलग्न भएको पाईएपछि उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । उनका अनुशार प्रहरी नियन्त्रणमा रहेका ति बालकले प्रहरी समक्ष घटना आफैले घटाएको बताएका छन ।
शुक्रबार दिउँसो नजिकैको जंगलमा दाउरा काट्न हिँडेका मामा संगै खेल्दै भान्जा पनि पुगेका थिए । त्यसैक्रममा आफुले लगाएको काम गर्न नमान्दा आवेगमा भान्जालाई लौरोले प्रहार गर्दा घटना घटेको उनले बताएका छन ।
मृतक नाबालक शेर्पाको शब कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाईसकिएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।