ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ स्थित पशुबगर नजिकै दुधकोशी नदि किनारमा एक युवाको शब फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको पहिचान नखुलेको युवाको शब फेला परेको हो ।
आज (मंगलबार) दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको थियो । टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गर्दा ति युवाको ३÷४ दिन अघि मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।
मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । जिल्ला स्थित कुनै पनि प्रहरी निकायमा शब संग मिल्दोजुल्दो हुलिया भएको मानिस हराएको भन्ने जानकारी नआएकाले हालसम्म शबको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
शबको भने आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भैरहेको खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।