ओखलढुंगा । गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरकी ४५ बर्षिया कुमारी राईको मृत्यु भएको हो ।
आज (मंगलबार) बिहान घर नजिकैको गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । तत्कालै उनको उद्धार गरि घर लगिएकोमा उनको मृत्यृ भैसकेको पाईएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट मृतक राईको पहिल्यै देखि स्वास्थ्यमा समस्या रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।