रामेछाप :जिल्लाको बिद्यालय तहमा अपराध न्युनिकरण सम्बन्धी कानुनी शिक्षा प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बिद्यालय तहका बालबालिकालाई लक्षित गरेर अपराध न्युनिकरण सम्बन्धी सचेनामुलक शिक्षा प्रदान गरेको हो ।
शुक्रबार मन्थली नगरपालिका ७ मुगिटार स्थित रुद्धाक्षेश्वर माध्यमिक बिद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई बालअधिकार,बालवालिकामाथी हुने हिंसा,हिंसाको पहिचान र हिंसाबाट बच्ने उपायका बारेमा प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी होम बहादुर पराजुलीले जानकारी दिए ।
यो कार्यक्रम नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगतको बिद्यालय सम्पर्क कार्यक्रम हो । बिद्यार्थीहरुमाथी हुने संभाबित हिंसाको पहिचान र हिंसाबाट बच्न अपनाउनुपर्ने उपायका बिषयमा बालबालिकालाई जानकारी गराउन आवश्यक रहेको प्रहरी नायव उपरिक्षक पराजुलीको भनाई छ ।
डिएसपी पराजुली र प्रहरी निरीक्षक रञ्जन गिरीले बिद्यालयका छात्रछात्रा तथा शिक्षकहरुलाई एकै स्थानमा राखेर सचेतनामुलक शिक्षा प्रदान गरेको हो । प्रहरी मेरो साथी अभियानलाई सार्थक बनाउन बिद्यालय तहको सचेतना कार्यक्रमलाई जोड दिएको नेपाल प्रहरीले जिल्लामा बढ्दो क्रममा रहेको आत्माहत्या न्युनिकरणका सवालमा पनि बिद्यार्थीहरुलाई जानकारी गराएको छ ।
प्रहरी नायव उपरिक्षक डिएसपी पराजुलीले जिल्लामा पछिल्लो समय भएको आत्माहत्याको तथ्यांक प्रस्तुत गर्दै आत्माहत्याका सम्भाबित लक्षण,कारण,रोकथामका उपाय र बिद्यालयमा शिक्षक,बिद्यार्थी र अविभावकको भुमिका लागायतका बिषयमा समेत जानकारी प्रदान गरिएको थियो ।
बिद्यालय तहमा रामेछाप प्रहरीले गरेको कार्यक्रम महत्वपुर्ण रहेको बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुले बताएका छन् ।