ओखलढुंगा । ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपकबहादुर केसीले जिल्लामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन आफु र मातहतका प्रहरी संघठन कठिबद्ध भएर लागिपर्ने बताएका छन । यसअघिका प्रहरी प्रमुख सुकदेव खनालको प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्कीबाट जिल्लामा सरुवा आएका केसीले आज (बुधबार) जिल्ला स्थित पत्रकारहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै यस्तो बताएका हुन ।
जिल्ला प्रहरी कार्यालयमै भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफु जिल्लामा आएर यहाँको समग्र अवस्था बारे प्रारम्भिक अध्ययन गर्दा सुरक्षाको दृष्टिकोणले समेत अन्य पहाडी जिल्ला भन्दा ओखलढुगा शान्त रहेको पाईएको बताए । त्यस्तै जिल्लाका जनप्रतिनिधी तथा विभिन्न ब्यत्तित्वहरु संग भेटघाटको क्रममा समेत यहाँका नागरिकहरुको सोँच निकै सकारात्मक र जिल्लाको विकासमा केन्द्रित रहेको पाईएको उनको भनाई थियो ।
जिल्लाका हालसम्मको आपराधिक गतिबिधीहरुको अध्ययन गर्ने क्रममा जबरजस्ती करणी तथा यसैसंग सम्बन्धित र आत्महत्या जस्ता घटनाहरु घटिरहेको पाईएकाले यसको न्यूनिकरणका लागि स्थानीय सरकार र सम्बन्धित निकायहरु संग आवश्यक समन्वय गरेर आम नागरिकमा जनचेतना जगाउने जस्ता थप प्रभावकारी कदम चालिने बताए ।
त्यस्तै जिल्लाका विभिन्न स्थानमा सडक दुर्घटनाहरु पनि बढ्दो देखिएको भन्दै उनले विशेष गरी मानेभञ्ज्याङ क्षेत्रको सडकमा बढी दुर्घटना हुने गरेको पाईएकाले उक्त स्थानमा स्थाई ट्राफिक व्यवस्थापन गर्न सके सडक दुर्घटनालाई कम गर्न सकिने बताए । यस विषयमा सम्बन्धित निकायहरु संग आवश्यक छलफल समेत भैरहेको डीएसपी केसीले बताए ।
अन्तरक्रियाकै क्रममा उनले जिल्लाका कुनै पनि स्थानमा कानून बिपरितका गतिबिधीहरु भएको थाहा पाईए तथा कोहि नागरिक बेपत्ता भएको सूचना पाए तत्काल प्रहरीलाई जानकारी गराउन पनि पत्रकारहरुलाई आग्रह गरे ।
त्यस्तै जिल्ला स्थित आफुलगायत प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी कठिबद्ध भएर बहन गर्ने भन्दै उनले अहिले प्रहरीले गरिरहेको भन्दा छुट्टै संयन्त्र बनाएर नागरिकको जनधनको रक्षासंगै र शान्ति सुरक्षा कायम गराउने तयारी भैरहेको उनको भनाई थियो ।
कार्यक्रममा पत्रकारहरुले विशेष गरी सदरमुकामको ट्राफिक ब्यवस्थापनलाई थप व्यवस्थित गर्न, जिल्लाका विभिन्न विद्यालयहरुमा मौलाउँदै गएको लागुपदार्थ दुब्र्यसनको नियन्त्रणका लागि आवश्यक पहल गनुपर्नेलगायतका विषयमा सुझाब दिएका थिए ।