ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ मा आज (बिहीबार) सम्पन्न खिजीदेम्बा अल्ट्रा म्याराथनको उपाधि सोलखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमायाँ बुढाले हात पारेका छन । ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो संस्करणको ‘राष्ट्रिय पुरुष विधा’ तर्फ सुमनले निर्धारित ४२ किलोमिटर दुरी तीन घण्टा ४९ मिनेटमा पार गर्दै उपाधि जितेका हुन ।
पुरुष विधामै भोजपुरका तीर्थ तामाङले ३ घण्टा ५० मिनेट लगाएर दोस्रो स्थान हासिल गरेका छन । त्यस्तै सोलुखुम्बुका अर्जुन कुलुङ तेस्रो भएका छन । उनले उक्त दूरी पार गर्न तीन घण्टा ५५ मिनेट लगाएका थिए भने बैतडीका मोहनदेव जोशीले निर्धारित दूरी कटाउन ४ घण्टा आठ मिनेट लगाउँदै चौथो भएका छन ।
यसैगरी ‘राष्ट्रिय महिला विधा’ तर्फ सुनमायाले चार घण्टा ४१ मिनेटमा निर्धारित दूरी पार गर्न सफल भईन । जुम्लाकै मन्जु रावतले पाँच घण्टा ११ मिनेट लगाएर दोस्रो, खोटाङकी प्रिया राईले ५ घण्टा ११ मिनेट ३ सेकेन्ड लगाएर तेस्रो र ५ घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै सिन्धुपाल्चोककी नितु तामाङले चौथो स्थान प्राप्त गरिन ।
‘स्थानीय पुरुष विधा’ तर्फ मानेभन्ज्याङ गाउँपालिकाका कृति राई प्रथम, खिजिदेम्बा गाउँपालिकाका रवीन्द्र तामाङ दोस्रो र खिजीदेम्बाकै देवराज सुनुवार तेस्रो भएका छन । त्यस्तै ‘स्थानीय महिला विधा’ तर्फ खिजिदेम्बाकी पदमकुमारी सुनुवार प्रथम, हिरुमाया भुजेल दोस्रो र अनिता सुनुवार तेस्रो भईन ।
दुई विदेशी नागरिक सहित १८ जना पुरुष र ४० जना महिला गरी जम्मा ५८ प्रतिस्पर्धी सहभागी म्याराथनका विजेताहरुले राष्ट्रिय विधातर्फ क्रमशः ७०, ६०, ५० र २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी स्थानीय विधातर्फ क्रमशः २०, १५ र १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन ।
ओखलढुंगा टुरिजम् डेभलोपमेन्ट कमिटीको आयोजना र खिजीदेम्बा गाउँपालिकाको सहआयोजनामा खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाँटेबाट सुरु भएको अल्ट्रा ट्रेल म्याराथन थोले देम्बा, ताक्लुङ, लाम्जे, भुलभुले हुँदै पुनः खिजिफलाँटेमै आएर टुंगिएको थियो ।
समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईबाट सुरु भएको म्याराथन ३ हजार ६ सय मिटरको उचाई पार गर्दै सुरुको बिन्दुमा आएर टुंगिएको आयोजकले जनाएको छ ।