फागुन २९, ओखलढुङ्गा । जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीले आयोजना गरेको खुला भलिवल प्रतियोगिताको उपाधी ईन्द्रवती ‘बी’ मैदानेले जितेको छ । आईतवार सम्पन्न भएको खुला भलिवल प्रतियोगितामा ईन्द्रवती ‘बी’ मैदानेले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा (डिपिओ) लाई सोझो सेटमा हराउदै उपाधी जितेको हो ।
ईन्द्रवती ‘बी’ मैदानेले डिपीओलाई २५–११, २५–१३ र २५–१२ को सोझो सेटमा हराउदै नगद रु. ५० हजारका साथमा शील्ड, मेडल र प्रमाणपत्र जितेको हो । उपविवजेता हुदै डिपीओले नगद रु. ३० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यसैगरि ईन्द्रवती ‘ए’ मैदानेले जन्तरखानी बाख्रेलाई सोझो तिन सेटमा नै पराजित गर्दै तेश्रो भएको छ । ईन्द्रवती ‘ए’ मैदानेले जन्तरखानी बाख्रेलाई २५–२२, २५–१८ र २५–१७ को सेटमा हराउदै नगद रु. २० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको हो । उता पराजित हुदै सान्त्वना भएको जन्तरखानी बाख्रेले नगद रु. १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो ।
जन्तरखानी मैदानेमा रहेको जलदेवी समाजसेवी युवा क्लवको आयोजनामा गत फागुन २५ देखी सञ्चालन भएका प्रतियोगिता आईतवार समापन भएको हो । क्लबले आफ्नो २५ औं बार्षिकोत्सव तथा रजतजयन्तीको अबसर पारेर भलिवल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरेको हो । रजतजयन्ती कै अबसर पारेर क्लले शनिवार १० के ठाडे–जन्तरखानी म्याराथनको आयोजना समेत गरेको थियो ।
भलिवल प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य तथा ओखलढुङ्गाका सांसद प्रदिप कुमार सुनुवार लगायतका अतिथिहरुले नगद पुरस्कार, शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा निर्णायकको भूमिका भने प्रादेशिक रेफ्रिद्वय नारायणकाजी राई र सुधिर कार्कीले गरेका थिए ।