ओखलढुंगा । मकै बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने चालक घाईते भएका छन । जिल्लाको लिखु गाउँपालिका २ दाहालटार स्थित भित्री सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १८ बर्षिया किशोरी अप्सरा खड्का रहेकी छन ।
आज (बिहीबार) साँझ झन्डै ६ : २० बजेको समयमा दाहालटार स्थित भित्रि कच्चि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ खेतबाट मकै लोड गरी जाँदै गरेको ना ६ त ८७४६ नम्बरको ट्रयाक्टर गिलो सडकमा भासिन गई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्रयाक्टरमा सवार खड्का र चालक रामेछापको मन्थली नगरपालिका ७ सुनारपानी बस्ने ३० बर्षिय विनोद नेपाली समेत घाईते भएका थिए ।
उनिहरुको उद्धार गरी तत्काल उपचारको लागि रामेछापको मन्थली नगरपालिका ३ साँघुटार स्थित स्थानीय मेडिकलमा लगिएकोमा उपचारको क्रममा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी आएपछि नजिकैको प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलतर्फ प्रस्थान गरेको बताईएको छ ।
घाईते चालक नेपालीलाई थप उपचारका लागि मन्थली अस्पताल रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । हाल ट्रयाक्टर घटनास्थलमै रहेको र चालकको अवस्था समेत गम्भीर रहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।