ओखलढुंगा । विद्युत विस्तारका लागि जिल्लाका सदरमुकाम क्षेत्रमा टाँगिएका विद्युतका तार र पोल निकै पुरानो भैसकेको छ । जसले गर्दा कतिपय पोल ढल्न लागेका छन भने विद्युतिय तार यत्रतत्र छन । यसरी जताभावी गुजुल्टिएका तार र लड्नै लागेका पोलले कतिबेला दुर्घटना निम्तिने हो पत्तो छैन । तर अवस्था यस्तो हुँदापनि यसको ब्यवस्थापनमा भने सम्बन्धित निकायले चासो दिएको छैन ।
सदरमुकामका विभिन्न गल्ली, चोक र मोडमा तारहरु लत्रिएका छन । बिजुलीका पोलमा पोलले लोडनै थाम्न नसक्ने गरी टेलिफोन, इन्टरनेट र बिजुलीका तारको भार छ । एकै ठाउँमा टाँगिदा सबै खाले तार बटारिएका छन भने कतिपय बिजुलीका पोल पुराना भइसकेका छन । अव्यवस्थित रूपमा यत्रतत्र झुन्डिएका तारले सदरमुकामलाई कुरूप बनाएको त छ नै, गुजुल्टिएका तारका कारण कतिबेला दुर्घटना निम्तिने हो कुनै ठेगान छैन ।
यसको ब्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाकी स्थानीय बिमला श्रेष्ठले बताईन । “बिद्युतको पोलहरु पनि त्यति ब्यवस्थित छैन, कतिपय अवस्थामा ठुल्ठुला सवारी साधनले विद्युतको तार समेत चुडालेको अवस्था छ” उनले भनिन । जसले गर्दा करेन्ट लाग्ने सम्भावना समेत उत्तिकै भएकाले यसको चाँडो ब्यवस्थापन हुनुपर्छ ।”
सदरमुकाम स्थित रामबजार, भैरबटोल, रमाईलोडाँँडा,हुलाकटोल,मिलनचोक,जि.स.स.टोल लगायतका मुख्य क्षेत्रमा जोखिमपूर्ण अवस्थामा विजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन । भित्री बजार क्षेत्रका कतिपय स्थानमा विद्युतको इन्स्युलेटेड केबल राखिएको भएपनि घरसंगै टाँसिएका विद्युतीय पोलले दुर्घटनाको जोखिम झनै उच्च छ । तारको व्यवस्थापनमा ध्यान नर्पुयाईँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने स्थिति छ । विशेषगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपदमा झनै जोखिम बढ्ने गरेको अर्का स्थानीय होमबहादु घतानी बताउँछन ।
तार व्यवस्थापनमा सम्बन्धित निकायकै बेवास्ताका कारण जोखिम धेरै बढेको हो । साँघुरिएको बजार क्षेत्रका सडकमा टाँगिएका होचा तार ठूला मालवाहक सवारीसाधनले चुँडाल्ने र बिगार्ने हुँदा विद्युत लाइन सट हुने जोखिम उत्तिकै रहेको छ । यसतर्फ सम्बन्धित निकायले भने खासै चासो दिएको पाईँदैन । यता स्थानीय विद्युत प्राधिकरणले भने स्थानीय संग समन्वय नहुँदा ब्यबस्थापनमा कठिनाई भएको जनाएको छ । नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका निमित्त प्रमुख सन्दिपकुमार भगतले विद्युतको पोलमा टेलिफोन, ईन्टरनेटलगायतका तार र डिभाईसहरु समेत राखिएको हँुदा व्यवस्थापनमा कठिनाई भएको बताए । यद्यपी यसको ब्यवस्थापनमा प्राधिकरण पनि लागिपरेको उनको भनाई छ ।
यता सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजेन्द्र) ले पनि यसको ब्यवस्थापनका लागि पटक पटक विद्युत प्राधिकरण संग छलफल भैरहेको बताए । प्राधिकरण लगायत सम्बन्धित निकायहरुसंग पुन आबश्यक छलफल गरेर यसको उचित निकास खोजिने उनको भनाई छ । जताजतै गुजुल्टिएका यस्ता तारहरुले बजारको सुन्दरतालाई कुरुप बनाउनुको साथै दुर्घटनाको उच्च जोखिम निम्त्याएको छ । यसको बेलैमा ब्यबस्थापनमा चासो दिएर सम्भावित जोखिमलाई कम गर्नेतर्फ ध्यान जान आवश्यक देखिन्छ ।
मिडियामा समाचार आएपछि २ वटा पोल फेरियो
सदरमुकामका कतिपय स्थानमा ढल्न लागेका र पुराना पोलका कारण दुर्घटनाको जोखिम झनै बढेको भन्ने समाचार यसअघि पनि मिडियामा आएपछि प्राधिकरणले २ वटा विद्युतको पोल परिवर्तण गरेको छ । सदरमुकामको रामबजारमा रहेको निकै पुरानो र आधा ढल्किसेको पोललाई परिवर्तण गरेर नयाँ पोल राखिएको छ ।
त्यस्तै सिनपा ११ कै मिलनचोक नजिकै अर्को पोल पनि परिवर्तण गरेर नयाँ राखिएको विद्युत प्राधिकरणका प्राविधिक शारद खतिवडाले बताए । हाल अति जोखिम रहेका २ वटा पोल फेरिएको र पुन अन्य ठाउँको पनि आवश्यकताका आधारमा पोल परिवर्तण गरेर नयाँ राखिने उनले बताए ।