ओखलढुंगा । सामुदायिक अस्पताल सोब्रुमा एक शिशुको मृत्यु भएपछी अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शब बुझेका छैनन । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी एक महिना २३ दिनकी छोरी रियाना दाहालको शुक्रबार राती ९:४५ मा मृत्यु भएको थियो । अस्पतालको चरम लापरबाहीले गर्दा शिशुको ज्यान गएको भन्दै उनिहरुले शब बुझ्न नमानेका हुन ।
पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान शिशुलाइ अस्पताल ल्याइएको थियो ।अस्पतालको आकस्मिक कक्षमा पुर्याइएकी शिशुलाई अस्पतालले बहिरंग सेवा्मार्फत उपचार गर्नु भनेर पठायो । बहिरंग सेवामा दिउँसो १ बजेसम्म लाइनमा बसेर उपचार पालो आएपछि पुनः चिकित्सकले आकस्मिक कक्षमै रेफर गरेको आफन्तले जनाएका छन । त्यतिन्जेलमा शिशुको अवस्था गम्भीर भइसकेको थियो । आकस्मिक कक्षमा लगी इन्जेक्सन लगाउँदा नै शिशुले सास फेर्न छोडिसकेको आफन्तको भनाइ छ ।
तर चिकित्सकले शिशुलाई आईसीयूमा राखेर साँझ ९:४५ बजेतिर शिशु मृत भएको अस्पतालले जानकारी दिएको थियो । आकस्मिक कक्षमा उपचारका लागि पुर्याइएको बिरामी शिशुलाई बहिरंगतर्फ पठाएर समयमै उपचार नगरी लापारबाही गरेको भन्दै आफन्तले अस्पतालले माफी माग्नुपर्ने सर्त राखेको थियो । उल्टै अस्पतालका निर्देशक डा. रोशन खरेलले बिरामीको आफन्तबाट आफूहरु असुरक्षित भएको अभिव्यक्ति दिएपछि आफन्तले चार बुँदे माग राखी शिशुको शव जिम्मा नलिने अडान राखेका छन् ।
अस्पताल निर्देशकको तुरुन्तै राजीनामा, आकस्मिक कक्षका चिकित्सकहरुमाथि छानबिन, अस्पतालले लिखितरुपमा माफी माग्नुपर्ने र आगामी दिनमा गम्भीर अवस्थाका बिरामीलाई आकस्मिक कक्षमा तुरुन्तै भर्ना लिनुपर्ने माग आफन्तको छ । माग पूरा नभएसम्म शब नबुझ्ने आफन्तले अडान राखेका छन ।