• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाका निर्वाचित महिला जनप्रतिनिधी (महिला वडा सदस्य) हरुले निर्वाचित भएर नेतृत्व तहमा पुग्दा पनि आफुहरुले विभिन्न खाले चुनौतीको सामना गरिरहनु परेको बताएका छन । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले आज (बिहीबार) सदरमुकाममा आयोजना गरेको “स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुको चुनौती, अन्तर र अवशर आदान प्रदान सम्बन्धि गोष्ठी”मा सहभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा सिद्धिचरण नगरपालिका ९ की वडा सदस्य ललिता गुरुङले काम गर्ने दौरानमा देखिएका चुनौतीहरुले सिकाएको पाठ बारे प्रष्ट पारिन । उनले लैंगिक विभेदका कारण पारिवारीक जिम्मेवारी बाँडफाँड नहुँदा कतिपय अवस्थामा आफु कुनै कार्यक्रममा सहभागी भएर घर फर्किँदा जुठो भाँडाले आफैलाई पर्खिरहेको अवस्थाबाट महिला जनप्रतिनिधीहरु गुज्रिनु परेको बताईन ।

आफु कतै बाहिर जानु परे घरको सबै काम सकेर मात्र हिँड्नु पर्ने बाध्यताले गर्दा महिलाहरुले पाएको सार्वजनिक जिम्मेवारी पनि सम्हाल्न निकै जटिल हुने गरेकोले घरायसी काममा पुरुष सदस्य पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । उनले निर्वाचित भैसकेपछि विभिन्न खाले चुनौतीहरु सिर्जना हुँदा जिम्मेवारीहरुको गहन अध्ययन, आर्थिक र सामाजिक रुपमा आत्मनिर्भर हुनुपर्ने, कार्यक्रमहरुमा पुर्व तयारीका साथ सहभागी हुनुपर्नेजस्ता पाठ सिकिएको पनि प्रस्ट्याइन ।

कार्यक्रममै सुनकोशी गाउँपालिका १ की वडा सदस्य जमुना घिमिरेले महिला जनप्रतिनिधीहरुले ब्यक्तिगत, पारिवारीक, सामाजिक र संस्थागत तहमै विभिन्न खाले चुनौतीहरु भोग्नु परेको बताईन । आर्थिक समस्याका साथै घरायसी कामको बोझ, परिवारको असहयोग, बहु जिम्मेवारी, जातिय र लिंगिय विभेदजस्ता चुनौतीहरु काम गर्ने दौरानमा भोग्नु परेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी धेरैजसो महिला वडा सदस्यहरुले आफ्नो अनुभव साट्दै शी लिड्स परियोजनाले आफुहरुमा बोल्ने बानीको विकास भएको बताएका थिए । पहिले पहिले कुनै पनि सार्वजनिक कार्यक्रममा आफुलाई बोल्न लगाउने हुन की ? भन्ने मनस्थिती हुने गरेकोमा अहिले आफुले बोल्न नपाउने होकी ? भन्ने महसुस हुने गरेको उनिहरुको भनाई थियो ।

कार्यक्रममा सहभागी जिल्ला स्थित विभिन्न राजनैतिक दलहरुले परियोजना जिल्लामा समापन हुन लागेको प्रति दुख ब्यक्त गरेका थिए । उनिहरुले परियोजना पुन सञ्चालन गर्न आफुहरुले गर्नुपर्ने सहयोगप्रति प्रतिवद्ध रहेको बताएका थिए । यस अघि परियोजनाका प्रशिक्षक तथा कर्मचारीहरुबाट प्रस्तुती दिने गरिएकोमा यस पटक भने तालिम लिएका महिला वडा सदस्यहरुलाई नै प्रस्तुती दिन लगाईएको परियोजना अनुगमन तथा मूल्याङकन अधिकृत बुना विकले जानकारी दिईन ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाकी पुर्व उपप्रमुख पुष्पकला भुजेलले सञ्चालन गरेको कार्यक्रममा सिनपाका उपमेयर केदारबाबु बस्नेत, मोलुङ गाउँपालिका उपप्रमुख उर्मिला खतिवडा, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवशरमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षकहरु मैयाँ राई, देवेन्द्र राई लगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!