ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेल घोटला छानविन हुनुपर्ने बताएका छन । नेपाली कांग्रेसको पार्टी कार्यालय (बिपि स्मृती) भबन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन गर्न माग गरे। सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको उनको भनाइ थियो ।
महामन्त्री थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए। उनले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरूबाट यो व्यवस्था बचाउन र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।
प्रदेश र स्थानीय तह जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको उनले बताए ।
त्यस्तै अर्का डा: शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको भन्दै आफूहरूले गम्भीररूपमा लिएको बताए । उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटला भएको दाबी गरे । सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने उनको भनाइ थियो ।