ओखलढुंगा: मोलुङ गाउँपालिकामा एक बृद्ध महिलाको हत्या भएको छ । हत्या हुनेमा मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चाकी ७७ बर्षिया बाल कुमारी सुनुवार रहेकी छन् ।
सुनुवारको शब घरभित्र नै सुत्ने खाटमाथि डोरीले झुण्ड्याईएको अबस्थामा फेला परेको स्थानीय भूमरी लामाले जानकारी दिए । लामाका अनुसार बुद्धा सुनुवारको गलामा र कानमा लगाईएको सुनका गरगहना लुटिएका छन् । उनको कानमा र शरिरका केही भागमा चोट पनि देखिएको छ ।
बुद्धा सुनुवारको विहिबार बेलुका तिर नै हत्या गरिएको आशंका गरिएको छ । सुनुवारको घरमा शुक्रबार विहानै दाउरा चिर्ने कामदार गएका थिए । तर घरको बाहिरबाट ताल्चा लगाएको देखेपछि कामदार दाउरा नचिरी फर्किएका थिए । शनिवार विहान जादा पनि घरमा ताल्चा लागिरहेको देखेपछि हल्लाखल्ला गर्दै सुनुवारको खोजी भएको थियो । शनिवार खोजी गर्नेक्रममा घरको ताल्चा फोडेर भित्र हेर्दा सुनुवार डोरीमा झुण्डिरहेको अबस्थामा फेला परेकी थिईन् ।
केहिदिन अगाडी मात्र घरमा खानेपानीको धारा जोड्नका लागि भनेर उनका नातीले विदेशबाट पैसा पठाएका थिए । पैसापनि पठाएको र घरमा सुनुवार एक्लै भएको बेलामा लुटपाट पश्चात हत्या गरेर आफै आत्महत्या गरेको भनेर बनाउन सुनुवार सुत्ने खाटमाथि झुण्ड्याईएको अबस्थामा फेला परेको लामाले बताए । घरमा सुनुवारको हत्या भएको थाहा पाएपछि शनिवार राति नै काठमाण्डौंमा रहेको उनका आफन्तहरु घर आएका थिए ।
घटनापछि ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरका प्रहरी निरीक्षकको नेतृत्वमा जिल्लाबाट प्रहरीको अनुसन्धानको टोली घटनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । केसीका अनुसार घटनास्थलमा मृतक महिलाको शबको अबस्था र स्थानीयको जानकारी अनुसार घटना संकास्पद देखिएको र उनको लुटपिट पश्चात नै हत्या गरिएको आशंका गरिएको छ ।
मृतक महिलाको शबलाई आईतबार जिल्ला अस्पताल रुम्जाटारमा पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको र घटनाको बारेमा अनुसान्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।