ओखलढुंगा । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले नेपालमै पहिलो पटक सेवा प्रवाह समय कार्ड लागु गरेको जनाएको छ । आज (मंगलबार) अदालत र पत्रकार बिच अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्दै अदालतले यस्तो जानकारी दिएको हो ।
अदालतको बैठक हलमा भएको कार्यक्रममा अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले सेवाग्राहीहरुलाई आफुले पाउने सेवा कति समयमा पाउन सकिन्छ भन्ने कुराको सुनिश्चिताको लागि नेपालमै पहिलो पटक २०८० मंसिर १ गतेबाट सेवा प्रवाह समय कार्ड लागु गरिएको बताए । जसले गर्दा सेवाग्राहीलाई निकै सहज भएको उनको भनाई छ ।
ओलढुंगा ईजलासले अभिलेख ब्यवस्थापनको कार्यलाई समेत उच्च प्राथमिकतामा राखी यस वर्ष (२०८१) लाई अभिलेख ब्यवस्थापन वर्षको रुपमा मनाउने सोँच बनाएको उनले बताए । ईजलासको अभिलेखलाई पूर्ण रुपमा सफ्टवेयरमा प्रविष्ट गरी पूर्ण डिजिटाईज अदालतका रुपमा विकसित गर्ने उदेश्यले कार्य थालनी गरिएको श्रेष्तेदार पाण्डेयले बताए ।
जस अनुशार ४ हजार १ सय ४१ थान मुद्धाहरु शतप्रतिसत सफ्टवेयरमा प्रविष्ट गरी २०८७ बैशाख ८ गतेसम्मका मिसिल कागजात कानून बमोजिम धुल्याई सकिएको उनले जानकारी दिए । त्यस्तै आगामी आर्थिक वर्षबाट कोर्टरुम टेक्नोलोजीको प्रयोग गरी भिडियो कन्फ्रेसिङ बहस सञ्चालन गर्ने तयारीलगायतका कार्यहरु भएको उनको भनाई छ ।
अदालतका बरिष्ठतम न्यायाधिश हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्तेदार पाण्डेयका साथै बरिष्ठतम न्यायाधिश बविता उप्रेती, न्यायाधिश सरला मोक्तान, सूचना अधिकारी मनोजकुमार खड्का लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा पत्रकारहरुको जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै न्यायाधिश भण्डारीले पत्रकार र पत्रकारिताको पनि न्याय सम्पादनमा ठुलो भूमिका रहने भएकाले वाच डगको रुपमा रहेर पत्रकारले न्यायालयलाई सल्लाह सुझाब र खबरदारी गर्नुपर्ने बताए । विगत केहि वर्षयता जबरजस्ती करणीको मुद्धा संख्या बृद्धि हुँदै गएको भन्दै उनले जनचेतनाको कमी, कानूनी शिक्षाको अभाव र जानेबुझेर पनि यस्ता घटना बढेको पाईएको बताए ।
नागरिक प्रति दायित्व निर्वाह गर्न उच्च अदालत सफल रहेको हालसम्म फर्छयौट भएको मुद्धाको तथ्यांकले देखाएको उनको भनाई थियो ।
समय अगाबै लक्ष्य भन्दा बढी मुद्धा फर्छयौट
यसैबिच अदालतले समय अगाबै लक्ष्य भन्दा बढी मुद्धा फर्छयौट गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्ममा अदालतले २ सय ८७ मुद्धा फर्छयौट गर्ने लक्ष्य लिएको थियो ।
तर अदालतले चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममै २ सय ९२ मुद्धा फर्छयौट गरिसकेको छ । जुन लक्ष्यको आधारमा १०१.७४ प्रतिसत र लगतको आधारमा ८१.५६ प्रतिसत रहेको अदालतका श्रेष्तेदार पाण्डेयले जानकारी दिए ।
गत वर्ष जिम्मेवारी सरेका १ सय २० थान, नयाँ दर्ताको अनुमान ३ सय २० गरी जम्मा ४ सय ४० थान मुद्धा पर्ने अनुमान अदालतको थियो । जसमध्ये हालसम्म २ सय ३८ थान नयाँ मुद्धा दर्ता भई जम्मा ३ सय ५८ लगत कायम भएको बताईएको छ ।
१ वर्ष नाघेका मुद्धा संख्या २ रहेकोमा ती पनि पेसीमा चढिसकेको छ । त्यस्तै थुनुवा मुद्धा तर्फ जिम्मेवारी सरेका मुद्धा संख्या १० र नयाँ दर्ता ३० गरी ४० थान थुनुवा मुद्धा रहेकोमा २८ थान फर्छयौट भैसेकेको पनि अदालतले जानकारी दिएको छ ।