ओखलढुंगा । खानेपानीको पाईप बनाउने क्रममा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ८ माम्खाका ५६ बर्षिय पदमबहादुर बस्नेतको ज्यान गएको हो ।
आज (मंगलबार) दिउँसो ४ बजेतिर उनि स्थानीय रमिते भिरको ठाँडोखोला साईडमा खानेपानीको पाईप बनाउन गएका थिए । सोहि क्रममा उक्त भिरबाट लडी अन्दाजी ५ सय मिटर तल झर्दा उनको टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका थिए ।
निजको साथिहरुले तत्काल उद्धार गरी उपचारको लागि अस्पताल लैजान भनि मोटर बाटोमा निकाल्ने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि नजिकको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।