ओखलढुंगा । दलित महिला केन्द्र नेपालको शि लिड्स परियोजनाले ओखलढुंगामा राजनीतिक दल र तालिम विभाग संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा विगत ३ वर्षदेखि सक्रिय परियोजनाले आज (सोमबार) सदरमुकाममा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पूर्व प्रतिनिधी सभा सदस्य तथा दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, निर्वाचित महिला वडा सदस्य र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित निर्वाचित महिला वडा सदस्यहरुले आफु निर्वाचित हुन अघि र निर्वाचित भैसकेपछिको अनुभव साटेका थिए । नेतृत्व तहमा पुगेपछि शि लिड्सले निकै मदत गरेको भन्दै विभिन्न चरणको तालिम मार्फत आफुहरुको क्षमतामा समेत बृद्धि भएको उनिहरुले बताए । अबको निर्वाचनमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको सहभागिता नेतृत्व तहमा हुनुपर्ने उनिहरुको भनाई थियो । महिलालाई महिला संगै प्रतिष्पर्धा गराएर जिल्लाका ७५ वडा मध्य कम्तीमा १० वटा वडामा महिला वडा अध्यक्ष बनाउने नीति निर्माण गरिनुपर्ने उनिहरुको माग थियो ।
कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले महिलाहरुलाई नेतृत्व तहमा लैजान पार्टीले विभिन्न किसिमको प्रशिक्षण दिईरहेको बताएका थिए । चुनावको लागि टिकट पाईहाले पनि आर्थिक अभाव र विभिन्न घरायसी समस्याका कारण अधिकांश महिलाहरु नेतृत्व तहमा पुग्न नसेकेकाले महिलाहरुले आफै सक्षम र आत्मनिर्भर हुन आवश्यक रहेको उनिहरुको भनाई थियो ।
परियोजनाकी प्रशिक्षक मैयाँ राईले सञ्चालन गरेको कार्यक्रममा दलित महिला केन्द्रकी महासचिव गौरा नेपालीले कार्यक्रममको उदश्य बारे प्रष्ट पारेकी थिईन । दलित महिला केन्द्र नेपालको शि लिड्स परियोजना जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा सञ्चालित छ ।