ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवालाको सुझाव संकलन गरेको छ । नगरपालिकाले आज (आईतबार) नगरपालिकाको सभाहलमा नीति तथा कार्यक्रम निर्माणका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै नगरक्षेत्रका सरोकारवाहरुको सुझाव संकलन गरेको हो ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई प्रत्यक्ष नागरिक र समुदायमुखी बनाउन सुझाब संकलन गरिएको नगरपालिकाले जनाएकोे छ । कार्यक्रममा उपस्थित सरोकारवाहरुले विशेष गरी नागरिकको आधारभुत आवश्यकतालाई परिपुर्ती गर्ने खालका बजेट र नीति तथा कार्यक्रम निर्माण गर्न सुझाएका थिए ।
उनिहरुले टोलटोलमा गेट निर्माण, मुर्ती, मन्दिर निर्माणजस्ता अनुत्पादक क्षेत्रमा बजेट कम खर्च गरिनुपर्ने बताएका थिए । त्यस्तै उनिहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषी, पर्यटन, बजार क्षेत्रमा जथाभावी हुने पार्किङ तथा फोहोर मैला ब्यवस्थापन लगायतका विषयलाई समेत विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईनुपर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुको सुझावलाई समेटेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरिने नगरपालिकाले जनाएको छ । सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप—मेयर केदारबाबु बस्नेत, निर्वतमान मेयर मोहन श्रेष्ठ, विभिन्न राजनैतिक दलका प्रतिनिधी, नगरपालिका स्थित वडाअध्यक्षहरु, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।
नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख फडिन्द्र कट्वालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निलकण्ठ विश्वकर्माले कार्यक्रमको उदेश्य बारे प्रस्टयाएका थिए ।