रामेछाप । सोमबार बिहान करिब ९ बजे भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापमा कार्यालय प्रमुखको ताण्डव देखियो । कार्यालय प्रमुख सुरेश दाहालले मदिरामा लट्ठिएर कार्यालय हाताभित्रै रमिता देखाए । कार्यालय संगैको क्वाटरमा बस्ने गरेका प्रमुख दाहालले मदिराको झोलमा यसअघि पनि दैनिक ताण्डव देखाउँदै आएका थिए ।
स्थानीयको भनाई अनुसार दैनिक बेलुका अबेरसम्म मदिरामा लट्ठिएर आफू बस्ने घरको छतमा बसी होहल्ला गर्ने र विभिन्न व्यक्तिहरूलाई गालीगलौज गर्ने गर्दथे । उनको यस्तो हर्कतबाट आजित बनेका स्थानीयले बारम्बार उक्त कुरा सहन नसकी सोमबार बिहान वडा अध्यक्षलाई खबर गरे। सोमबार (आज) सरकारले सार्वजनिक बिदा दिएकाले उनले बेलुका देखिनै मदिराको झोलमा डुबुल्की मारेका थिए।
स्थानीयको खबरपछि बिहान कार्यालयमा रामेछाप नगरपालिका ८ का वडा अध्यक्ष सन्तोष तामाङ पुग्दा कार्यालय प्रमुख दाहालको ताण्डव प्रत्यक्ष देखे । वडा अध्यक्ष तामाङ पुग्दा उनले मदिराले लट्ठिएर कार्यालय प्राङ्गणमा बसेर गालीगलौज गर्दै थिए। उनलाई स्थानीय र वडा अध्यक्षले सम्झाउन खोज्दा उल्टै मुख छाड्न थाले ।
एउटा सरकारी कार्यालयका प्रमुखले आफ्नो मर्यादा नै भुलेर यस्तो हर्कत देखाएपछि वडा अध्यक्ष तथा स्थानीयले उनलाई प्रहरी बोलाएर जिम्मा लगाए । प्रहरीले उनकै कार्यालयको गाडीमा हालेर चौकी लगेका छन् । दाहालले मदिरा सेवन गरेको प्रस्ट देखिए पनि कानुनी रूपमा मदिरा सेवन गरे नगरेको परीक्षण भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बत्ताइन् ।
यदि रिपोर्टमा उनले मदिरा सेवन गरेको पुष्टि भए उनलाई विभागीय तथा कानुनी उपचारका लागी मातहत कार्यालयको माथिल्लो निकायमा सिफारिस गरिने प्रजिअ निरौलाले बत्ताइन् ।
हेर्नुहोस भिडियो