ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि ६६ करोड ८१ लाख, ५ हजार ८ सय १७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा बसेको १४ औं नगरसभामा आज ¬(सोमबार) उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट प्रस्तुत गरेका हुन ।
सिद्धिचरण नगरपालिकाले आफ्नै स्रोत, संघ र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम समेत गरी करिब ६७ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो । विनियोजित बजेट मध्ये नगरपालिकाको आन्तरिक आय १ करोड ७५ लाख, मालपोत कार्यालयको घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट ६५ लाख, राजस्व बाँडफाँड संघिय सरकारबाट १० करोड ४८ लाख, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारबाट ८३ लाख ४८ हजार रहेको छ ।
त्यसैगरी संघिय सरकारबाट वित्तिय समानीकरण अनुदानबाट १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ५५ लाख, ससर्त अनुदान ३५ करोड ४२ लाख २१ हजार रहेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान १ करोड ३० लाख र सशर्त अनुदान १ करोड ७० लाख ४६ हजार रहेको र बाँकी अपुग रकम आर्थिक वर्ष २०८०÷०८१ बाट बैंक मौज्दात अल्या रु १ करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैयाँ अनुमान गरिएकोे छ ।
नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषी तथा पशुपंक्षी, सिंचाई, पूर्वाधार विकास र खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सबैभन्दा धेरै शिक्षा तर्फ सशर्त र निशर्त गरी कुल २७ करोड ८३ लाख १ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा मितव्ययीता अपनाउने भएको छ । आगामी वर्षका लागि ११ करोड ६१ लाख तीन हजार तीन सय मात्र विनियोजन गरिएको नगरपालिकाले सार्वजनिक गरेको बजेट बक्तब्यमा उल्लेख छ ।
नगरपालिकाले अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले नगरपालिकाको रुम्जाटार, ठाडे, जन्तरखानी लगायतका स्थानलाई फिल्म छायाँकन स्थलको रुपमा विकास गर्ने, एक वडा एक खेल मैदानको व्यवस्थान गर्न आवश्यक पहल गर्ने, जंगली जनावरबाट हुने बालीनालीको क्षती न्युनिकरणका लागि प्रदेश तथा केन्द्र सरकार संगको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्नेजस्ता नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।