ओखलढुंगा । पछिल्ला वर्षहरुमा जिल्लामा सडक दुर्घटना बढ्दै गएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुशार पछिल्लो ३ आर्थिक वर्षको अवधीमा १ सय २२ वटा सवारीसाधन दुर्घटनामा परे । दुर्घटनामा २८ जनाको ज्यान गयो भने ८३ जना गम्भीर घाईते र १ सय ६३ जना घाईते भएका छन ।
सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधारण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ । जिल्लाका विभिन्न स्थानमा सडक दुर्घटनाको समाचार आईरहने गरेको सिद्धिचरण नगरपालिका ११ की स्थानीय बिमला श्रेष्ठले बताईन् । जसले गर्दा कतै यात्रा गर्न पनि निकै जोखिम रहेको उनको भनाई छ ।
विशेष गरी जिल्लाको ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ । धेरै सवारी साधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको पाइन्छ । चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ ।
विशेष गरी जिल्लाको ग्रामिण भेगमा सडक दुर्घटना उच्च हुने गरेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) प्रविण कार्कीले बताए । धैरेजसो ट्रयाक्टर तथा मोटरसाईकलजस्ता सवारी साधन दुर्घटनामा परी मृत्यु भएको पाईएको उनको भनाई छ ।
सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरी र ट्राफिक प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । चालकको स्वास्थ्य परिक्षण, ओभरटेक सम्बन्धी सचेतना, माईकिङ, पर्चा पम्ल्पेट वितरण, विद्यार्थी तथा सर्वसाधरणलाई कक्षा सञ्चालनजस्ता कार्य गरिने गरिएको भए पनि दुर्घटना न्यूनिकरण भने हुन सकेको छैन ।