सोलुखुम्बु । जिल्लाको दुघकुण्ड नगरपालिका ८ पत्तालेमा कोशी प्रदेशकै सबैभन्दा ठुलो स्याउ खेती विस्तार गरिएको छ । ब्यावसायिक स्याउ खेतीको सम्भावना देखिएपछि लामो समयदेखी बाँझो रहेको यो जमिनमा बिगत ३ वर्ष यता स्याउ खेती विस्तारमा जोड दिईएको छ ।
विभिन्न पेशा ब्यवसायमा आवद्ध सोलुखुम्बु र ओखलढुंगाका ७ जना लगानीकर्ता मिलेर स्याउ खेतीको विस्तारलाई निरन्तरता दिएका हुन । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रालि नामक दर्ता गरेर स्याउ खेती सुरु गरिएको छ ।
यहाँ १ सय ८६ रोपनीको क्षेत्रफलमा इटालीबाट ल्याईएका उन्नत जातिका १८ हजार ५ सय स्याउका विरुवा लगाईएको छ । यी विरुवाहरुले रोपेको दुई वर्षदेखि नै फल दिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ लगानीकर्ताहरुको ध्यान बढेको हो ।
“सुरुमा ३६ रोपनी क्षेत्रफलमा ३ हजार विरुवा रोप्यौँ हामीले एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रालिका लगानीकर्ता कर्मा शेर्पाले भने, रोपेको एक वर्षमा फुल पनि खेल्यो र फल पनि लाग्यो । त्यसपछि उत्पादन हुने रैछ, भन्ने लाग्यो र जोस पनि बढेपछि थप्दै थप्दै अहिले १ सय ८६ रोपनीमा स्याउ खेती गरिरहेका छौँ”उनले भने । ३६ रोपनी जग्गा खरिद गरेर र बाँकी भाडामा लिएर उक्त स्याउ खेती सुरु गरिएको उनको भनाई छ ।
२ हजार ८ सय भन्दा बढीको उचाईमा सुरु गरिएको यति ठुलो परिमाणको स्याउ खेतीले अन्य किसानमा पनि रौनक नै बढाएको छ । यस स्याउ बगानमा रेडफुजी, गाला, फुजीकिकु, गोल्डेन, रेड डिलिसिस जस्ता ६ प्रकारका स्याउ लगाईएको छ भने धेरैजसोमा उत्पादन पनि भैरहेको छ । यी स्याउका बोटबाट उत्पादन सुरु भएदेखी २५ देखी ३५ वर्षसम्म फल दिने बताईन्छ ।
एउटै बोटमा ४५ दानासम्म फल्ने यो स्याउ खेतीको रेखदेख र स्याहारका लागि पनि समय र जनशक्ति ब्यवस्थापनमा भने निकै ध्यान दिनुपर्छ । सिजन अनुशार मलजल, गोडमेलमा निकै ध्यान दिनुपर्ने एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रालिका कर्मचारी पालसाङगे शेर्पाले बताए । फुल फुलेर दाना लागिसकेपछि बोटको आकार अनुशार फल पनि घटाउनुपर्ने उनको भनाई छ ।
यस बगानबाट उत्पादित स्याउ बजारमा प्रतिकेजी १ सय ६० देखी २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । भदौ अन्तिमदेखी असोजको पहिलो साताबाट टिप्न मिल्ने स्याउ बिक्रीबाट गत वर्ष मात्रै ४५ लाख बढी आम्दानी भएको थियो । यस वर्ष यस बगानमा स्याउको उत्पादन बढेकाले आम्दानी पनि तेब्बर हुने अपेक्षा लगानीकर्ताहरुको छ ।
उनिहरुको स्याउ फर्मलाई सरकारले पनि साथ दिएको छ । उक्त ठाउँमा स्याउ खेती विस्तारका लागि स्याउको विरुवा, असिनारोधक जाली, घेराबारको लागि तारजाली, सिंचाईको सुविधाका लागि पनि विभिन्न समयमा अनुदान सहयोग गरिएको प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाका निमित्त प्रमुख डा.हेमचन्द्र कुमार जैसवारले बताए ।
खस्किँदै गएको रम्परागत खेतीको विकल्पमा यस्ता नगदेबाली कृषकका लागि राम्रो विकल्प बन्न सक्छ । त्यसकारण मुलुकभित्रै उत्पादन बढाउनका लागि यी र यस्ता खाले खेती विस्तार तर्फ कृषकलाई आकर्षित गर्न सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।