ओखलढुंगा । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौँ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोग बिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क ।
करोडौै लगानी र लामो समय लगाएर बनाईएको बसपार्क केहि समयको प्रयोग पछि पुन प्रयोग बिहिन अवस्थामा छ । सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा करिब ८ वर्ष लगाएर व्यवस्थित बसपार्क निर्माण गरियो । तर निर्माण भएको लामो समयसम्म पनि बसपार्क प्रयोगमै आएन ।
स्थानीय र मिडियाको पटक पटकको खबरदारी पछि २०७९ चैत्र १० गते धुमधामका साथ बसपार्कको औपचारिक उद्घाटन गरियो। सम्बन्धित सरोकारवालाहरुले बसपार्कलाई केहि सयम सञ्चालनमा पनि ल्याए । तर लामो समय यता पुन बसपार्क प्रयोग बिहिन भएको छ ।
यो बसपार्क अहिले बसपार्क नभएर बिग्रेका सामग्रीहरु थुपार्ने स्थल जस्तो बन्दै गएको स्थानीय रस्मिता भूजेलले बताईन् । दैनिक रुपमा एउटा पनि बस पार्किङ लागि आउने गरेको आफुले नदेखेको उनको भनाई छ । अर्का स्थानीय डम्बरबहादुर कट्वालले गत जेष्ठबाट बसपार्क प्रयोगमा नआएको बताए । राज्यले यति धेरै लगानी गरेको बसपार्कलाई सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको उनको बुझाई छ ।
साना तथा ठुला सबैखाले सवारी साधन पार्किङ गर्न भनेर बसपार्क निर्माण गरिएको थियो । विभिन्न समयमा ५ करोड भन्दा बढी रकम खर्चेर बनाईएको यो बसपार्क अहिले सुनसान छ । यता सवारी धनी र चालकहरुले बसपार्क हुँदाहुँदै अटेर गरेर सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन ।
पैदल यात्रुलाई हिँड्नै असहज हुने गरि सडकका छेउछाउ पार्किङ गरिएका सवारी साधनले दुर्घटनाको जोखिम उत्तिकै छ । स्थानीय सरकारले भने सम्बन्धित सबै सरोकारवाला पक्षसंग आपसी तालमेल नमिल्दा यस्तो समस्या आएको प्रतिक्रिया दिएको छ ।
सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले सुरक्षा निकायका पदाधिकारी र सम्बन्धित सबैसंग छलफल गरेर आवश्यक निचोड सहित अगाडी बढ्ने बताए । बसपार्क दिनदिनै बेवास्ताको शिकार बन्दै गएकाले नियमित रुपमा सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको उनको भनाई छ ।
कतै आवश्यक संचरना नै नभएर समस्या छ भने कतै भएका संचरना पनि प्रयोगमा आउन सकेका छैनन् । त्यसैको एउटा जल्दोबल्दो उदाहरण हो यो बसपार्क । जुन उदेश्यले करोडौँ लगानी गरेर बसपार्क बनाईयो अहिले त्यहिँ उदेश्य अनुरुप सञ्चालन नहुँदा राज्यको लगानी बालुुवामा पानी भएको छ ।
सवारी पार्किङलाई ब्यवस्थित गर्न बनाईएको बसपार्क प्रयोगमा ल्याईन नसक्नु सरोकारवाला निकाय सबैको कमजोरी र राज्यको लगानीको चरम खेलाची पनि हो । त्यसकारण ब्यवस्थापनमा देखिएका चुनौतीलाई सम्बोधन गर्न सबै सरोकारवाला निकाय थप गम्भिर बन्न आवश्यक देखिन्छ ।


