ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगरपालिकाकै वडा नम्बर १२ स्थित हटिया लाग्ने स्थानमा रकारी तथा फलफुल बिक्री वितरण केन्द्र निर्माण गरेको छ । स्थानीय स्तरमा उत्पादित तरकारी बेच्ने स्थान अभाव हुँदा विशेष गरि कृषकहरुले सडकमा बसेर तरकारी बेच्नु परेको जनगुनासो बढेपछि नगरपालिकाले किसानको समस्या समाधानमा सक्रियता देखाएको हो ।
नगरपालिकाले भ्याट सहित झन्डै २२ लाख ५३ हजार ६ सय २५ रुपैयाँ खर्च गरेर तरकारी तथा फलफुल बिक्रि वितरणका लागि ट्रस निर्माण गरेको छ । तरकारी तथा फलफुल बिक्री वितरण केन्द्रको आज (शनिबार) सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले औपचारिक रुपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले हटियामा खुल्ला स्थान त्यो पनि भिरालो जमिनमा बसेर तकारी बेच्नुपर्दा कृषकहरुले निकै कष्ट भोग्नुपरेको गुनासो बढेपछि नगरपालिकाले किसानकालाई थोरै भएपनि राहतको महसुस गराउन तरकारी तथा फलफुल बिक्री वितरण केन्द्र निर्माण गरेको बताए । यहाँबाट किसानले सहज रुपमा तरकारी र फलफुल बिक्रि वितरण गर्न सक्ने र घाम तथा पानीले तरकारी विग्रने समस्या नहुने अपेक्षा गरिएको उनले बताए ।
यसलाई अझै ब्यवस्थित रुपमा सञ्चालन गरेर स्थानीय कृषी उत्पादनको बजारीकरणका लागि पनि नगरपालिकाले अझै थुपै्र योजना र प्रभावकारी कार्यक्रमहरु अघि सार्ने उनको भनाई थियो । उद्घाटन कार्यक्रममा नगरप्रमुख खनाल सहित नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत निलकण्ठ विश्वकर्मा, सिद्धिचरण नगरपालिका १२ का वडा अध्यक्ष उमंग श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष भलबहादुर कट्वाल लगायतको सहभागिता रहेको थियो ।
तरकारी बिक्री स्टल पाएपछि किसानमा खुसीयाली
तरकारी तथा फलफुल बिक्री वितरण केन्द्र स्थापना र उद्घाटन पछि आज (शनिबार) बाट ट्रसमै राखेर किसानले तरकारी विक्री बितरण सुरु गरेका छन । यस अघि घामपानी, धुलो र हिलोमा समेत खुल्ला ठाउँमै तरकारी बेच्नुपर्दा कृषकहरुले निकै दुख भोग्नु परेको थियो । तर ट्रस निर्माण भएपछि त्यो समस्याबाट मुक्ती मिलेको कृषकको भनाई छ ।
सिद्धिचरण नगरपालिका ७ बिगुटारकी अगुवा कृषक निङमा शेर्पाले अब यसअघिको जस्तो पानी पर्दा भिजेर सरकारी बेच्नु पर्ने बाध्यता हटेको बताईन । घाम लाग्दा तरकारी नओईलिने र सुरक्षित महसुस भएको उनको भनाई छ । सोही ठाउँका अर्का कृषक रिपासाङ शेर्पाले पनि अब कृषकलाई निकै सहज भएको भन्दै खुसी ब्यक्त गरे । बिगतमा जस्तो भिरालो ठाउँबाट तरकारी गुडेर नजाने तथा धुलो र हिलो नहुने उनको अपेक्षा छ ।
सिद्धिचरण नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी अर्की कृषक फुर्छोकी शेर्पाले पनि तरकारी तथा फलफुल बिक्रि वितरण केन्द्र स्थापना भएपछि विशेष गरी बिगुटारका कृषकले राहतको महसुस गरेको बताईन । हटियामा आउने अधिकांश तरकारी बिगुटारबाटै आउने भएकाले यस अघि बिगुटारकै कृषकलाई बढी समस्या हुने गरेको थियो ।
तरकारी राख्ने ठाउँ नपाउँदा कपितय किसानहरुको झगडा नै हुने गथ्र्यो । तर अब यो सबै समस्या लगभग समाधान भएको उनको भनाई छ । यता सिद्धिचरण नगरपालिका १२ का वडा अध्यक्ष उमंग श्रेष्ठले ट्रस निर्माण पछि धेरै कृषकलाई राहत मिलेको बताए । तर यो अझै पर्याप्त नरहेको र आगामी वर्ष अझ विस्तार गरिने उनको भनाई छ ।
तरकारी तथा फलफुल बिक्री गर्ने स्टल पाएपछि कृषकहरुले खुसी ब्यक्त गरेको भन्दै उनले अझै कृषकहरुका लागि केहि गर्ने हिम्मत जुटेको बताए । तत्कालका लागि कृषकहरुलाई धुलोमैलो, हिलो र घामपानीबाट ओत लाग्ने ब्यवस्था मात्रै गरिएको भन्दै उनले तरकारी बिक्री बितरण गर्ने स्टललाई थप ब्यबस्थित गर्दै लगिने बताए ।