• २०८२, ८ जेष्ठ बिहीबार
0 COMMENTS

ओखलढुंगा । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवद्र्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ । जिल्लाका ८ स्थानीय तह मध्ये पहिलो पटक सामी कार्यक्रम सञ्चालन गरेको सिद्धिचरण नगरपालिकाले आज (मंगलबार) अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई आवश्यक सूचना र सीप सिकेर मात्र यात्रा गर्न प्रेरित गर्नुका साथै स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच समन्वय बढाउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको बताईएको छ । कार्यक्रममा सामी कार्यक्रमको साझेदार संस्था हेल्भेटास नेपालका कार्यक्रम अधिकृत रोहित बिकले नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिए ।

वैदेशिक रोजगारमा जाने क्रममा देखिएका प्रमुख चुनौतहरू, सुरक्षित आप्रवासनका उपाय, सीपमूलक तालिम, श्रम स्वीकृति, भरपाइ तथा प्रमाणपत्र व्यवस्थापन, सहयोगी संस्थाहरूको भूमिकाको विषयमा समेत उनले जानकारी प्रस्तुत गरेका थिए । त्यस्तै जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने,मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा मात्रै जिल्लाबाट करिब ५ हजार नागरिक श्रम स्वीकृती लिएर बैदेशिक रोजगारीका लागि गएको तथ्यांक समेत प्रस्तुत गरेका थिए। सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसन न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्दै आप्रवासनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!