ओखलढुंगा । जिल्लामा हालै आएका जिल्ला प्रहरी प्रमुख (डीएसपी) मदन केसीले जिल्लामा आफ्नो कार्यकालमा सकेसम्म राम्रो काम गरेर देखाउने बताएका छन । करिब २ साता अघि जिल्लामा प्रहरी प्रमुखको कार्यभार सम्हालेका केसीले आज (मंगलबार) जिल्ला स्थित पत्रकारहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै यस्तो बताएका हुन ।
उनले सकेसम्म राम्रो काम गर्ने प्रयास गरिने तर नराम्रो नगर्ने कुरामा आफु प्रतिबद्ध रहेको बताए । केहि दिन अघिदेखि जिल्ला आएर यहाँको शान्ती सुरक्षा, भौगोलिक परिबेश, आपराधिक गतिविधी आदीबारे जानकारी लिँदा समग्रमा जिल्ला शान्तीपूर्ण रहेको पाईएको उनले बताए । प्रहरीको तथ्यांक हेर्दा जिल्लामा आत्महत्या र जबरजस्ती करणीजस्ता घटनाहरु अलि बढी रहेको पाईएको भन्दै यसकोे न्यूनिकरणका लागि आवश्यक योजना बनाएर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न पनि तयारी भैरहेको उनको भनाई थियो ।
त्यस्तै यातायात ब्यवस्थापन संगै लागुऔषध दुब्यशर्नी र साईबर क्राईमलाई पनि न्यूनिकरण गर्न विशेष सक्रियता बढाईने प्रहरी प्रमुख केसीले बताए । जिल्लामा शान्ती सुरक्षालाई थप मजबुद बनाउन जिल्ला स्थित सबै सरोकारवालाहरु संग आवश्यक समन्वय गरेर अघि बढिने उनको भनाई थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा पछिल्लो समय मौलाउन थालेको लागुपदार्थ दुब्र्यशनी,कालोबजारी,कृतिम अभाव, आत्महत्या, जबरजस्ती करणीआदी रोकथामका लागि विशेष योजना बनाएर सक्रियता बढाउन प्रहरीलाई सुझाएका थिए । ओखलढुंगाका यस अघिका डीएसपी कृष्ण खड्काको काठमाण्डौ सरुवा भएपछि डीएसपी केसी जिल्ला आएका हुन ।


