ओखलढुंगा । जिल्लामा सम्पन्न प्रथम सिद्धिचरण मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी मानेभञ्ज्याङ स्पोर्ट्स क्लब मानेभञ्ज्याङले जितेको छ । गत बैशाख ३० गतेबाट सिद्धिचरण नगरपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको थियो । मानेभञ्ज्याङ स्पोर्ट्स क्लब मानेभञ्ज्याङ र अधेरी नारायणस्थान फुटबल क्लब सिद्धिचरण नगरपालिका ३ बिच आज (शनिबार) भएको फाईनल खेलमा अधेरी नारायणस्थानलाई हराउँदै मानेभञ्ज्याङ स्पोर्ट्स क्लब उपाधी जित्न सफल भएको हो ।
खेलको निर्धारित समय सकिदासम्म दुबै टिम गोल रहित बराबरीमा थिए । तर पछि थप भएको अतिरिक्त २ मिनेटको अवधीमा मानेभञ्ज्याङ स्पोर्ट्स क्लबले १ गोल गर्दै उपाधी जित्न सफल भएको हो । प्रतियोगिताको उपाधी जितेसंगै उसले नगद रु २ लाख २२ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा द्धितिय हुन सफल अधेरी नारायणस्थान फुटबल क्लबले पनि १ लाख ११ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाईनलिष्ट २ समुह दुर्गाबक्स गण र मानेभञ्ज्याङ गाउँपालिकाले पनि प्रतिसमुह ४४ हजार ४ सय ४४ नगद सहित मेडल र प्रमाणपत्र पाएका छन ।
प्रतियोगितामा दुर्गाबक्स गणका देवराज चौधरी उत्कृष्ट खेलाडी, मानेभञ्ज्याङ स्पोर्ट्स क्लबका खेलाडी रेवत पुलामीमगर उत्कृष्ट गोलरक्षक र गोपाल लिम्बू उत्कृष्ट डिफेन्डर घोषित भए । त्यस्तै अधेरी नारायणस्थान फुटबल क्लबका सम्राट योङहाङ उत्कृष्ट मिडफिल्डर र चन्द्रशुन्दर श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भएका छन ।
उनिहरुलाई जनही ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित स्थानीय खेल मैदानमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बु र ओखलढुंगा गरी विभिन्न १० टिमको सहभागीता रहेको थियो ।