ओखलढुंगा । राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा आज (शनिबार) जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको। डिभिजन वन कार्यालय ओखलढुंगा र विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा सिद्धिचरण नगरपालिका–१२ स्थित सिमडाँडा क्षेत्रमा विशेष वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको हो।
‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने राष्ट्रिय नारासहित आयोजित सो वृक्षरोपण कार्यक्रममा ६० भन्दा बढी धूपी, सल्ला, तेजपात, समी, कल्की, लप्सीलगायतका बहुपयोगी र स्थानीय वातावरणअनुकूल जातका बिरुवाहरू रोपिएका छन्।
प्राकृतिक स्रोत र वातावरण संरक्षणको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समुदाय, विभिन्न संघ–संस्था, प्रहरी तथा वन कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त प्रमुख रितेष भूषण बस्नेतले वृक्षरोपण कार्यक्रम केवल एक दिने औपचारिकता नभई वातावरण संरक्षण र जलवायु सन्तुलनमा योगदान पुर्याउने दीर्घकालीन अभियानको थालनी भएको बताए। वृक्षरोपण स्थलहरूलाई आगामी दिनमा संरक्षण तथा हेरचाह गरी ती बिरुवाहरूको वृद्धि सुनिश्चित गरिने पनि उनले बताए।
दिवसकै अवसरमा जिल्लाका विभिन्न स्थानमा स्थानीय वन कर्मचारी, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाको सक्रियतामा ६ हजार ५ सयभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिइएको उनले जानकारी दिए।