ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका–९ मित्र भञ्ज्याङमा आगलागी हुँदा एक घर आंशिक रुपमा जलेर नष्ट भएको छ भने लाखौँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय मोहनलाल चौरेलको ढुंगा माटोको गारो र टिनको छानो भएको दुई तले घरमा आज (आइतबार) दिउँसो १:३० बजे तिर आगलागी भएको हो। गाईबस्तुलाई खुवाउने खोले पकाउने क्रममा अचानक आगो सल्किएको बताइएको छ । आगो लागेको जानकारी दिइएको २:४५ बजेपछि प्रहरी चौकी चुप्लुघोराखोरीबाट प्रहरी टोली खटिएको थियो।
स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो अपराह्न ३:३० बजेतिर पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट घर आंशिक जलेको भए पनि घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ता कपडालगायतका सामग्री पूर्ण रुपमा नष्ट भएका छन्।
आगलागीबाट झण्डै १ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उनका अनुशार घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
साङ्केतिक तस्वीर