ओखलढुंगा । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ ओखलढुंगामा विविध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। “धान बलिमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित जिल्लाको सिद्धिचरण नगरपालिका–५ सानिटार स्थित खेतमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तह तथा विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कृषकहरूदेखि सरकारी तथा गैसस संस्थाका प्रतिनिधि, कृषि प्राविधिक, बिद्यार्थी, जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टीकाराम बानियाले धान नेपाली जनजीवन र संस्कृतिको अभिन्न अङ्ग मात्र नभई आत्मनिर्भर र अर्थतन्त्रको आधार भएको उल्लेख गरे । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गरी उत्पादन वृद्धिमा जोड दिनु आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमका अन्य वक्ताहरूले कृषकहरूको कठिन परिश्रमप्रति सम्मान प्रकट गर्दै यस्ता कार्यक्रमले कृषि पेशाप्रति कृषकहरूको आकर्षण बढाउने विश्वास व्यक्त गरे । उनीहरूले स्थानीय स्तरमा खाद्य आत्मनिर्भरता कायम गर्न धान खेतीको आधुनिकीकरण, भण्डारण तथा बजारीकरण व्यवस्थापनमा लगानी बढाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए ।