• २०८२, २७ असार शुक्रबार
0 COMMENTS

ओखलढुंगा । आर्थिक वर्ष २०८१र८२ का लागि डिभिजन वन कार्यालय, ओखलढुंगाद्वारा सञ्चालन गरिएका विभिन्न योजनाहरूको संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ। वन कार्यालयको समन्वयमा बिहीबार सम्पन्न सो अनुगमनमा जिल्लाका सरोकारवाला निकायहरू, उपभोक्ता समिति, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित सामुदायिक वन व्यवस्थापन, जलस्रोत संरक्षण, रिचार्ज पोखरी निर्माण लगायतका कार्यक्रमहरूको स्थलगत निरीक्षण गरेको थियो । विशेषगरी सिद्धिचरण नगरपालिका–१ मा निर्माण गरिएको रिचार्ज पोखरी, चिसंखुगढी गाउँपालिका–६ भदौरेमा निर्माण भएको तालेपोखरी तथा सोही वडामा सञ्चालित वन पैदावारमा आधारित उद्यमशीलता अभिवृद्धि कार्यक्रमअन्तर्गत सालको दुना–टपरी निर्माण गतिविधिको प्रत्यक्ष अवलोकन गरिएको थियो।

यस्तै योजना तथा कार्यक्रमहरूको प्रभावकारिता, उपयोगिता तथा त्यसले स्थानीय समुदायमा पारिरहेको प्रभावबारे अनुगमन टोलीले प्रत्यक्ष जानकारी संकलन गरेको थियो। कतिपय स्थानमा कार्यको गुणस्तर र प्रभावकारिता उल्लेखनीय रहेको बताउँदै टोलीले प्रशंसा समेत गरेको थियो। सहभागी सरोकारवालाहरूले अनुगमनको क्रममा आगामी वर्षमा थप समन्वय, अनुदानको पारदर्शिता र स्थानीय सहभागिता अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

डिभिजन वन कार्यालय, ओखलढुंगाका निमित्त प्रमुख रितेषभूषण बस्नेतले वन कार्यालयले सञ्चालन गरेका योजना तथा कार्यक्रमको पारदर्शिता अभिवृद्धि गर्नुका साथै आगामी योजनाहरू निर्माणका लागि प्रत्यक्ष सुझाव संकलन गर्नेजस्ता उद्देश्यले संयुक्त अनुगमन गरिएको बताए। उनका अनुसार यस्ता अनुगमन कार्यक्रमले योजनाको प्रभावकारिता मूल्याङ्कन गर्न, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न तथा नीतिगत सुधारका लागि मार्गनिर्देशन जुटाउन समेत मद्दत पुग्नेछ। साथै, उनले योजनाहरूको अनुगमनमार्फत देखिएका सफल अभ्यासलाई विस्तार गर्ने र देखिएका कमजोरी सुधार्ने कार्यमा पनि यो प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

संयुक्त अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख टोपबहादुर श्रेष्ठ, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!