• २०८३, ११ बैशाख शुक्रबार
0 COMMENTS

तीज विशेष गरी नेपाली महिलाहरुको आत्मीयता, आस्था र संस्कृति संग गाँसिएको महान् चाड हो । यो पर्व दिदी–बहिनीको भेटघाट, सामूहिक नाचगान र आत्मिक सम्बन्ध बलियो बनाउने माध्यमका रूपमा परम्परागत रूपमा मनाउँदै आइएको छ । तर पछिल्ला वर्षहरुमा तीजको रूपरंग मात्र बद्लिएको छैन,यसको मूल सार पनि ओझेलिन थालेको छ ।

पहिलाका दिनमा तीज संयम, उपवास, मौलिक गीत–संगीत र सामूहिक भेटघाटको पर्व मानिन्थ्यो । महिला, आफन्त र दिदी–बहिनीबीचको आत्मीय जमघट मुख्य विशेषता थियो । तर अहिले भने तीज महँगो पोशाक, सुनका गहनाको प्रदर्शन, अमुक होटलमा भोज र आधुनिक शैलीका गीतको लहरले तीजको मौलिकतामै प्रहार गरेको छ ।

आजभोली तीज आउनु करिब महिना दिन अगाडिदेखि नै देशभरका शहर बजारहरू रातदिन रंगीन देखिन्छन् । पसलहरूमा नयाँ डिजाइनका साडी–चोली, गहना र सौन्दर्य प्रसाधनको भिड लाग्छ । होटल–रेस्टुरेन्टहरू दर भोजका लागि बुकिङमै व्यस्त हुन्छन् । स्थानीय तहहरूले समेत “तीज विशेष कार्यक्रम” भन्दै लाखौँ रुपैयाँ बजेट छुट्याउन थालेका छन् । तर यो चकाचौँधबीच एउटा गम्भीर प्रश्न उठ्छ—के तीज साँच्चै नारीको आत्मीय पर्व हो, वा भड्किलो प्रदर्शनको नयाँ मञ्च मात्रै ?

दर भोजको विस्तार र विलासिता

पहिले–पहिले तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । आमा, दिदी–बहिनीहरू एकआपसमा मिलेर घरमै आत्मीयतासँगै साधारण रूपमा पकाइएका परिकार खान्थे । तर आजभोली शहर बजारमा तीज आउन महिना दिन अगाडि नै दर भोजको चहलपहल सुरु हुन्छ ।

महँगो होटलमा बुकिङ, सजावट, डीजे सेट र साउण्ड सिस्टम,मानौँ कुनै वैवाहिक भोजझैं भव्य । कतिपय महिलाहरू त हप्तामै आधा दर्जन भोजमा सहभागी हुने दृश्य साधारण भइसकेको छ । आत्मीयता र विश्वासको उत्सव प्रतिस्पर्धामा हराउँदै गएको यथार्थलाई नकार्न सकिँदैन ।

सुन, साडी र फेशन शो

शहर बजारमा तीज आजभोली फेशन शोको पर्याय बन्दै गएको छ । शरीरभरि ८–१० तोलाको सुनका गहना, महँगो डिजाइनर साडी–चोली, सौन्दर्य प्रसाधन र मेकअपको खर्च,आर्थिक क्षमता देखाउने प्रतिस्पर्धा नै तीजको नयाँ परिभाषा बनेको छ । जो महिलाले यस्तो प्रदर्शन गर्न सक्दैनन् उनीहरू आफैंलाई पछाडि परेको महसुस गर्छन् । यसरी तीज संस्कृतिको पर्व नभई, आर्थिक दबाबको माध्यममा परिणत हुँदै गएको छ ।

गीत–संगीतको व्यंग्य

तर यस्ता भव्य दर भोजमा बज्ने गीत भने अझै पनि “चरी जेलैमा” नै हुन्छ । अब प्रश्न उठ्छ—लक्जरी होटलमा रमाउँदै, विदेशी परिकार चाख्दै, १० तोलाको गहनामा सिँगारिएकी महिला साँच्चै “चरी जेलैमा” परेकी हुन् त ? वास्तवमा त्यो गीत त गाउँघरमा वर्षैभरी चुलोचौको, घाँस–दाउरा बोकेर पसिना बगाउने चेलीको आवाज हो ।

मेहनत मजदुरी गरेर परिवार पाल्ने जिम्मेवारी बोकेकी असहाय महिलाको आवाज हो । जसका लागि तीजमा भोज होइन, दिनको एक छाक जुटाउनु नै चुनौती हो ।

स्थानीय तहको बजेट र राजनीति

पछिल्ला वर्षहरुमा त प्रायः सबै स्थानीय तहहरूले तीजको नाममा लाखौँ रुपैयाँ बजेट छुट्याउन थालेका छन् । संस्कृति जोगाउने शीर्षकमा भव्य कार्यक्रम गर्ने, गाउँघरमा पनि अलि हुनेखाने महिलाको भेला, कलाकार निम्ता, गायक–गायिकाको प्रस्तुति हुने चलन बढेको छ । कार्यक्रममा स्थानीय नेता–प्रतिनिधि उपस्थित भएर भाषण गर्छन्,फोटो–भिडियो खिच्छन् । संस्कृति जोगाउने नाममा सरकारी ढुकुटीमै भार थपिन्छ ।

तर यस्ता कार्यक्रमले मौलिकता जोगाउँछ कि राजनीतिक शो–अफ मात्रै हुन्छ ? भन्ने प्रश्न अझै अनुत्तरित छ । अर्को तर्फ स्थानीय तहले गरेको यस्ता कार्यक्रममा ओखलढुंगाकै परिप्रेक्षमा भन्नुपर्दा जीविकोपार्जनका लागि लिपे खोलामा बालुवा चाल्ने, पछाडि कोक्रोमा बच्चा च्यापेर सिस्नेखोला किनारमा गिटी कुट्ने श्रमिक महिलाहरू ती कार्यक्रमसँग कुनै पनि सम्बन्ध बाहिरै रहन्छन् । उनीहरूको तीज न त होटल पार्टीसँग जोडिन्छ, न त सरकारी बजेटसँग । उनीहरूको तीज भनेकै मुस्किलले दुई छाक खाएर अर्को दिनको श्रमको तयारी गर्नु हो ।

गाउँ–शहरबीचको गहिरो खाडल

शहर बजारमा तीज आर्थिकी र फेशनको पर्व बनेको छ भने, दुर्गम गाउँघरमा अझै पनि महिलाहरू घाँस–पातमै व्यस्त छन् । त्यहाँ न स्थानीय तहको तीज कार्यक्रम पुगेको छ, न त्यहाँका महिलालाई नाचगान गर्ने नै फुर्सद छ । अनि फोटो सुटेको त कुनै नगरौँ ।

तीजकै दिन पनि उनीहरू मेलामा पसिना बगाउन बाध्य हुन्छन् । उनीहरूका लागि तीज विशेष परिकार होइन, बरु सामान्य भात–तरकारी मात्रै हो । यो खाडलले तीजलाई वर्गीय पर्व बनाइरहेको छ। धनीका लागि देखाउने र रमाउने पर्व, गरिबका लागि सामान्य दिनचर्या ।

सामाजिक–आर्थिक प्रभाव

पछिल्ला वर्षहरुमा तीजको नाममा हुने अति–खर्चले धेरै परिवारलाई आर्थिक दबाबमा पारिरहेको छ । सामाजिक प्रतिस्पर्धामा पछि पर्छु कि भन्ने डरले धेरैले ऋण लिएरै भए पनि पार्टी र फेशनमा खर्च गर्न बाध्य छन् । यसले महिलालाई भन्दा बढी परिवारलाई आर्थिक बोझ थपिरहेको छ । संस्कृतिको नाममा सुरु भएको प्रतिस्पर्धा ऋण र तनावको कारण बन्दै गएको छ ।

मौलिकता जोगाउने चुनौती

तीज संस्कृतिको गहिरो मूल्य बोकेको पर्व हो । तर अहिले शहर बजारमा यसको मौलिकता ओझेलमा परेको छ । दर भोजको लामो श्रृंखला, सुन–साडीको प्रदर्शन, होटल पार्टी र स्थानीय तहका महँगो कार्यक्रमहरूले तीजलाई आस्थाभन्दा बढी फेशन र खर्चको पर्व बनाइदिएको छ ।

एकातिर १० तोलाको गहनामा झिलिमिली चेली होटलमा “चरी जेलैमा” गाइरहेकी हुन्छिन् । अर्कोतिर गाउँघरकी वास्तविक चरी घाँस बोकेर पसिना बगाइरहेकी हुन्छिन् । यी दुई विपरीत दृश्यबीचको खाडल नै आजको तीजको विडम्बना हो ।

यदि मौलिकतालाई अहिले नै जोगाइएन भने, भोलिका पुस्ताले तीजलाई “ब्राण्डेड साडी, सुनको प्रदर्शन र होटल भोजको दिन” भनेर मात्रै सम्झनेछन् । संस्कृतिको जरा सुरक्षित राख्दै आधुनिकतालाई आत्मसात गर्ने चुनौती अहिलेको पुस्ताले नै सम्हाल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!