ओखलढुंगा । जिल्लामा पनि सुरक्षाको कारण देखाउँदै निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज (बुधबार) साँझ ५ बजेदेखि भोलि (बिहीवार) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। जिल्ला प्रसासन कार्यालयले आज एक सूचना जारी गर्दै कर्फ्यु जारी गरिएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीद्वारा हस्ताक्षरित आदेश अनुसार जिल्ला प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम ओखलढुंगाको विभिन्न ठाउँमा चार वा सोभन्दा बढी व्यक्तिहरू भेला हुने, हुलदङ्गा गर्ने, जुलुस, प्रदर्शन, सभा, जुलुस, कोणसभा, नाराबाजी, घरघरमा हिँड्ने लगायतका गतिविधिमा रोक लगाइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू यसप्रकार रहेका छन् :
सिद्धिचरण नगरपालिका वडा नं. ४ र ५ को सम्पूर्ण क्षेत्र
सिद्धिचरण नगरपालिका वडा नं. ११ (रामपुर) को सम्पूर्ण क्षेत्र
उत्तरसिद्धिचरण नगरपालिका वडा नं. ६ र ७ को सम्पूर्ण क्षेत्र
दक्षिणसिद्धिचरण नगरपालिका वडा नं. ३, ८ र १० को सम्पूर्ण क्षेत्र
जिल्ला प्रशासन कार्यालयले आपतकालीन सेवामा प्रयोग हुने सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, पर्यटक, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन भने निषेधाज्ञाबाट प्रभावित नहुने जनाएको छ। प्रशासनले जनताको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरेको छ।


