ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ नस्बु हिवाटोलमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आज (मंगलबार) दिउँसो करिब ३:४० बजे घाँस काट्न रुखमा चढेका स्थानिय ५३ वर्षीय अमरबहादुर तामाङलाई रुख नजिकै रहेको केन्द्रीय लाइनको विद्युत तार छोइएपछि करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि तामाङको घटनास्थलमै मृत्यु भएको र शव रुखमै अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे ३:५० बजे प्रहरी चौकी रगनीमा खबर प्राप्त भएपछि तत्कालै दुई जनाको प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल सुरक्षित राखेर आवश्यक प्रक्रिया अघि बढाएको छ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट टोली पठाइएको छ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।


