• २०८२, १४ चैत्र शनिबार
0 COMMENTS

गत फागुन २१ गते निर्वाचनको दिन । बिहानैदेखि म ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित खाद्य संस्थानमा रहेको मतदान केन्द्रमा रिपोर्टिङमा व्यस्त थिएँ । बिहान ७ बजेबाट मतदान सुरु भए पनि सुरुवाती केही समय केन्द्र अपेक्षाकृत शान्त थियो । तर घाम अलि माथि उक्लिन नपाउँदै करिब ९ बजेतिर मतदाताको भीड बढ्न थाल्यो र मतदान केन्द्रको आँगन विस्तारै लाइनले भरिन थाल्यो ।

कोही हतारमा थिए, कोही साथीभाइसँग चुनावबारे बहस गर्दै थिए, र कतिपय पहिलो पटक मतदान गर्न पाउँदा उत्साह र संकोच दुवै मिसिएको भावमा देखिन्थे।

त्यही भीडबीच मतदान गरेर फर्किँदै गरेकी करिब १९ वर्षकी एक किशोरीलाई मैले रोकेँ। उनी पहिलो पटक मतदान गर्ने ‘जेन–जी’ पुस्ताकी मतदाता थिइन्।

“पहिलो पटक मतदान हो?” मैले सोधेँ।

“हजुर,” उनले मुस्कुराउँदै जवाफ दिइन्।

“पहिलो पटक मतदान गर्दा कस्तो अनुभव भयो?”

उनले केहीबेर सोचिन्।

“पहिला त अलि डर लागेको थियो,” उनले भनिन्, “तर निकै उत्साह पनि थियो। किनकि अहिले हामीले गर्ने निर्णयले देशको भविष्य तय गर्छ जस्तो लाग्छ।”

अन्तिम प्रश्न थियो—अब बन्ने सरकार कस्तो होस् भन्ने चाहना छ?

उनको जवाफ छोटो थियो, तर अर्थपूर्ण।

“पहिलो कुरा त स्थायी सरकार बन्नुपर्‍यो। अनि देशमा भ्रष्टाचार रोकिनुपर्‍यो। स्वदेशमै रोजगारी सिर्जना होस्। त्यति भयो भने देश बन्छ, अनि हामीजस्ता युवाले विदेश जानु पनि पर्दैन होला।”

लामो समयदेखि काठमाडौँ बस्दै आएकी उनी चुनावमा भोट हाल्नकै लागि जिल्ला आएकी रहिछन्। त्यही मतदान केन्द्रमा भेटिएका अर्का युवा, पहिलो पटक मतदान गरेका लुसन ताम्राकारसँग पनि मैले यस्तै प्रश्न गरेँ। उनको जवाफ पनि लगभग उस्तै थियो—भ्रष्टाचार अन्त्य, स्वदेशमै रोजगारी सिर्जना र स्थिर सरकार।

सिद्धिचरण नगरपालिका–११ कै अर्की युवा मतदाता श्रेया राजभण्डारीले पनि यो निर्वाचनमा पहिलो पटक आफ्नो मताधिकार प्रयोग गरेकी थिइन्। उनको अपेक्षा पनि फरक थिएन। “हामीले देश छोडेर विदेश जानुपर्ने अवस्था अन्त्य होस्,” उनले भनिन्, “विकासका लागि आएको बजेट सही ठाउँमा खर्च होस् र सरकारले काम गरोस्।”

तीन युवाका शब्द फरक थिए, तर सन्देश एउटै थियो—स्थिर सरकार, सुशासन र स्वदेशमै अवसर।

ओखलढुंगामा यसपटकको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख २२ हजार ७१५ मतदाता थिए। तीमध्ये ५९ हजार ७९ जनाले मतदान गरे, जुन करिब ४८।१४ प्रतिशत हो। खसेको मतमध्ये ३० हजार २६५ पुरुष र २८ हजार ८१३ महिला मतदाता थिए। पहिलो पटक मतदान गर्नेको आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि मतदान केन्द्रहरूमा युवा मतदाताको उपस्थिति उल्लेखनीय देखिन्थ्यो।

मतदान केन्द्रको लाइनमा उभिएका मानिसहरूको अनुहार हेर्दा एउटा रोचक मिश्रण देखिन्थ्यो—बृद्ध मतदाता, पहिलो पटक मतदान गर्ने युवा, विदेशबाट केही दिनको छुट्टी लिएर फर्किएका कामदार, र उत्साहका साथ मतदान गर्न आएका महिला मतदाता। कतिपय वृद्ध मतदातालाई छोराछोरीले सहारा दिएर मतदान केन्द्रसम्म ल्याएका थिए भने कतिपय युवा विदेश फर्किनुअघि मतदान गर्नैपर्छ भन्ने सोचका साथ आएका थिए।

यसले एउटा सन्देश दिएको थियो—राजनीतिक प्रक्रियाप्रति निराशा बढिरहेको भए पनि लोकतान्त्रिक प्रक्रियाबाट पूर्ण रूपमा विमुख हुने मनस्थिति भने अझै बनेको छैन।

यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच थियो। दलहरूले आ–आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए—कसैले विकासको, कसैले सुशासनको, कसैले नयाँ राजनीतिक संस्कृतिको। तर मतदान केन्द्रमा मतदातासँग कुरा गर्दा उनीहरूको अपेक्षा भने धेरै जटिल देखिएन। उनीहरूका मागहरू स्पष्ट र सीधा थिए—सरकार स्थिर होस्, भ्रष्टाचार घटोस् र रोजगारी सिर्जना होस्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि जिल्लाको राजनीतिक समीकरणमा पनि उल्लेखनीय परिवर्तन देखियो। लामो समयदेखि स्थापित मानिएका राजनीतिक दलहरूको प्रभाव चुनौतीमा परेको देखियो भने नयाँ राजनीतिक शक्तिले उल्लेखनीय उपस्थिति देखाए। यसले जिल्लाको राजनीतिक धरातल स्थिर र अपरिवर्तनीय छैन भन्ने सन्देश दिएको छ।

विगतका निर्वाचनहरूमा परम्परागत रूपमा बलियो मानिएका दलहरूलाई यसपटक मतदाताले अपेक्षित समर्थन नदिएको परिणामले देखायो। कतिपय स्थानमा नयाँ दल र नयाँ अनुहारप्रति मतदाताको आकर्षण देखिनु परिवर्तनको चाहनाको संकेतका रूपमा व्याख्या गरिएको छ।

यो परिवर्तन केवल दलहरूको प्रतिस्पर्धा मात्र होइन, मतदाताको मनोविज्ञानमा आएको परिवर्तन पनि हो। मतदाताले अब केवल पार्टीको परम्परा वा इतिहासलाई मात्र आधार मानेर निर्णय गर्ने अवस्था क्रमशः कमजोर हुँदै गएको देखिन्छ। उनीहरू परिणाम, काम र विश्वासका आधारमा निर्णय गर्न खोजिरहेका छन्।

पछिल्ला वर्षहरूमा सरकार गठन र विघटनको श्रृंखलाले नेपालको राजनीतिक स्थिरतालाई कमजोर बनाएको छ। सरकार बदलिन्छन्, मन्त्री फेरिन्छन्, तर नीतिगत निरन्तरता कमजोर हुने गरेको गुनासो नागरिकबीच सुनिन्छ। विकासका धेरै योजनाहरू कागजमै सीमित भएको वा ढिलाइ भएको उदाहरण पनि कम छैनन्। यसले गर्दा मतदातामा एउटा प्रश्न बलियो हुँदै गएको छ—सरकार बदलिरहँदा देशको दिशा किन बदलिँदैन ?

युवाहरूको दृष्टिकोणमा यो प्रश्न अझ तीव्र देखिन्छ। अहिलेको युवा पुस्ता सामाजिक सञ्जाल र प्रविधिमार्फत विश्वका अन्य देशको विकास, अर्थतन्त्र र अवसरबारे जानकारी राख्छन। उनीहरूले देखिरहेका छन्—अन्य देशहरू उद्योग, प्रविधि र रोजगारी सिर्जनामा कसरी अगाडि बढिरहेका छन्। यही तुलना गर्दा नेपालको विकास गति उनीहरूलाई सन्तोषजनक लाग्दैन।

यसैले उनीहरूको अपेक्षा अब केवल चुनावी घोषणापत्रमा सीमित छैन। उनीहरू नारा भन्दा नतिजा खोजिरहेका छन्। रोजगारी सिर्जना गर्ने नीतिहरू, पारदर्शी प्रशासन र दीर्घकालीन योजना कार्यान्वयन हुने वातावरण उनीहरूको प्राथमिकतामा परेको देखिन्छ।

विदेश पलायनको प्रश्न पनि यही सन्दर्भसँग जोडिन्छ। नेपालबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जाने क्रम अझै जारी छ। धेरैका लागि विदेश रोजगारी परिवारको आर्थिक आधार बनेको छ, तर धेरै युवाको चाहना भने विदेश स्थायी बसाइँ सराइ होइन, अवसरको अभावले गर्नुपरेको बाध्यता हो।

त्यसैले मतदान केन्द्रमा भेटिएका युवाले दोहोर्‍याएको वाक्य—“देशमै रोजगारी सिर्जना होस्”—सामान्य माग मात्र होइन, वर्तमान सामाजिक यथार्थको प्रतिबिम्ब पनि हो।

मतदाताले व्यक्त गरेको अर्को अपेक्षा सुशासनसँग सम्बन्धित छ। विकासका लागि विनियोजन भएको बजेट सही रूपमा खर्च भयो कि भएन भन्ने प्रश्न अहिले आम नागरिकले उठाउन थालेका छन्। सडक, पुल, खानेपानी वा अन्य पूर्वाधार निर्माणका परियोजनाहरू ढिलाइ हुने वा गुणस्तरको प्रश्न उठ्ने घटनाहरूले पनि नागरिकको विश्वासमा असर गरेको छ।

यही कारणले गर्दा धेरै मतदाताको प्राथमिकता अहिले एउटा वाक्यमा समेटिन्छ—सरकारले काम गरोस्।

सिद्धिचरण नगरपालिका–११ को त्यो मतदान केन्द्रमा भएको छोटो संवाद कुनै ठूलो राजनीतिक विश्लेषण थिएन। तर त्यहाँबाट उठेको सन्देश निकै स्पष्ट थियो—मतदाताले अब केवल सरकार गठनको गणित हेरेका छैनन्, सरकारको परिणाम हेर्न चाहन्छन्।

स्थिरता, सुशासन र अवसर—यी तीन विषय अहिले मतदाताको अपेक्षाको केन्द्रमा देखिन्छन्। अब बन्ने सरकारका लागि चुनौती पनि यही हो र अवसर पनि यही।

मतदान केन्द्रबाट फर्किँदै गर्दा ती १९ वर्षकी युवतीले भनेकी एउटा वाक्य बारम्बार सम्झना आयो—“देश बन्छ भने हामी विदेश जानु पनि पर्दैन होला।”

सायद अहिले धेरै नेपाली मतदाताको चाहना पनि यही हो, यस्तो देश जहाँ भविष्य खोज्न विदेश जानु बाध्यता नहोस् र यस्तो सरकार जसले त्यो भविष्य देशमै सम्भव बनाओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!