ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ विगुटारस्थित विगुटार माध्यमिक विद्यालय परीक्षा केन्द्र। जहाँ ४ वटा सरकारी र एउटा निजी विद्यालयका गरी १८१ परीक्षार्थी सहभागी छन्। सदरमुकाम र आसपासका केही विद्यालयका विद्यार्थीहरूको परीक्षा केन्द्र त्यही तोकिएको छ। परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन नै विद्यार्थीहरू आवश्यक सामग्रीसहित बसोबासको व्यवस्था मिलाउन केन्द्र आसपास पुगेका थिए।
तर त्यहाँ देखिएको दृश्य सबैका लागि समान थिएन। सरकारी विद्यालयका विद्यार्थीहरूसँग एकाध बाहेक अभिभावकको उपस्थिति झण्डै शून्य जस्तै देखिन्थ्यो। अर्कोतर्फ निजी विद्यालयका विद्यार्थीहरू भने प्रायः अभिभावककै साथमा आएका थिए । कसैसँग बाबुआमा दुवै, कसैसँग बुवा वा आमा, त कसैसँग नजिकका आफन्त।
नयाँ ठाउँ भएकाले आफ्ना बालबालिकाको खानपिन, बसोबास, सुरक्षा र स्वास्थ्यको ख्याल राख्न, उनीहरूको मनोबल उच्च राख्न र बिना त्रास परीक्षा दिन सहयोग पुर्याउन अभिभावकको उपस्थिति रहेको बुझिन्थ्यो।
यसरी परीक्षा केन्द्र पुगेका अभिभावकहरू केवल बालबालिकालाई पुर्याएर फर्किएका मात्र थिएनन्। पहिलो दिनको परीक्षा सकिएपछि उनीहरूले त्यहाँको समग्र माहोल बुझ्ने, आफ्ना बालबालिकाको परीक्षा कस्तो रह्यो भन्ने सुन्ने र उनीहरू बाँकी परीक्षा दिन मानसिक तथा शारीरिक रूपमा कत्तिको तयार छन् भन्ने आँकलन गर्ने समय पनि दिए।
परीक्षा हलबाट बाहिरिएका बालबालिकासँग उनीहरूले विस्तारै कुरा गरे—कुन प्रश्न सजिलो लाग्यो, कहाँ अप्ठ्यारो भयो, समय पुग्यो कि पुगेन, डर लाग्यो कि लागेन। कतिपयले आफ्ना बालबालिकाको अनुहारको भाव हेरेरै उनीहरूको आत्मविश्वास नाप्ने प्रयास गरे।
जब उनीहरूलाई लाग्यो कि बालबालिका अब नयाँ ठाउँमा अभ्यस्त भइसकेका छन्, साथीसँग घुलमिल भएका छन् र बाँकी परीक्षा निर्धक्क भएर दिन सक्ने अवस्थामा पुगेका छन्, त्यसपछि केही अभिभावक “बीच–बीचमा आइरहने” भन्दै फर्किए।
तर सबै अभिभावकको निर्णय एउटै थिएन। केहीले भने बालबालिकाको मनोबल अझ मजबुत बनाउन, दैनिक खानपिन र स्वास्थ्यको ख्याल राख्न र हरेक दिनको परीक्षा पछि प्रत्यक्ष रूपमा साथ दिन अन्तिम दिनसम्म सँगै बस्ने निधो गरे।
यसरी हेर्दा निजी विद्यालयका अभिभावकको उपस्थिती केवल औपचारिक मात्र नभई योजनाबद्ध र निरन्तर देखिन्छ । पहिलो दिनको अवस्थाबाट बालबालिकाको आत्मविश्वास नाप्ने, आवश्यक ठानेसम्म साथ दिने र त्यसपछि पनि सम्पर्कमै रहने।
यही बीचमा एउटा मौन प्रश्न उठ्छ, के सरकारी विद्यालयका अभिभावकमा चासो कम भएको हो, कि उनीहरू बाध्यताले टाढा छन्?
जिल्लाभरबाट करिब २ हजार २ सय भन्दा बढी विद्यार्थी यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी छन्। जिल्लामा ११ वटा परीक्षा केन्द्र तोकिएका छन् र होम सेन्टरको व्यवस्था छैन। यसको अर्थ विद्यार्थीले आफ्नै विद्यालयभन्दा टाढा गएर परीक्षा दिनुपरेको छ।
यस्तो अवस्थामा अभिभावकको साथ अझ महत्वपूर्ण हुन सक्छ। तर सबै अभिभावकले त्यो अवसर पाएका छैनन्। सरकारी विद्यालयका विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि हेर्दा धेरैजसो परिवार आर्थिक रूपमा कमजोर वा मध्यम अवस्थाका छन्। उनीहरू प्रायः कृषि, ज्यालादारी वा साना व्यवसायमा निर्भर छन्।
यस्ता अभिभावकका लागि केही दिनका लागि काम छोडेर परीक्षा केन्द्रमा बस्नु सहज निर्णय होइन। दिनभर काम नगर्दा हुने आय घाटा, बसोबास र खानपिनको अतिरिक्त खर्च—यी सबैले उनीहरूलाई रोक्ने कारण बन्छन्। त्यसैले धेरै अभिभावक चाहेर पनि आफ्ना बालबालिकासँग परीक्षा केन्द्रमा जान सक्दैनन्।
यसैले सरकारी विद्यालयका अभिभावकको अनुपस्थितिलाई केवल ‘बेवास्ता’ भनेर बुझ्नु पर्याप्त हुँदैन। धेरै अवस्थामा यो स्पष्ट रूपमा बाध्यता हो—आर्थिक, सामाजिक र पारिवारिक परिस्थितिले निर्धारण गरेको।
अर्कोतर्फ निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक प्रायः आर्थिक रूपमा सक्षम, शहरसँग जोडिएका वा शिक्षित पृष्ठभूमिका देखिन्छन्। उनीहरूका लागि शिक्षा केवल आवश्यकता मात्र होइन, लगानीको विषय पनि हो। त्यसैले बालबालिकाको पढाइमा समय, ध्यान र स्रोत लगानी गर्ने प्रवृत्ति बढी देखिन्छ।
साना कक्षादेखि नै निजी विद्यालयका अभिभावक दिनमा कम्तीमा तीन पटक विद्यालय पुग्ने गर्छन् । बिहान पुर्याउन, दिउँसो खाजा दिन र छुट्टीपछि लिन। यसले बालबालिकासँग उनीहरूको निरन्तर सम्पर्क र निगरानीलाई झल्काउँछ।
यता सरकारी विद्यालयका धेरै अभिभावक भने वर्षमा एक–दुई पटक मात्र विद्यालय पुग्ने गरेका हुन्छन्। यसले अभिभावक र विद्यालयबीचको दूरीलाई पनि संकेत गर्छ।
तर यसलाई एकतर्फी रूपमा ‘लापरवाही’ भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। धेरै अभिभावक आफैं शिक्षित नभएकाले विद्यालयसँग कसरी जोडिने भन्नेमा अन्योलमा हुन्छन्। कतिपयलाई समयको अभाव हुन्छ भने कतिपयलाई प्रक्रियाबारे जानकारी नै हुँदैन।
एसईईकै सन्दर्भमा अर्को बहस पनि उत्तिकै महत्वपूर्ण छ। अहिले धेरैले एसईईको प्रत्यक्ष महत्व पहिले जस्तो नरहेको बताउँछन्। प्लस टु र उच्च शिक्षाका अवसरहरू विस्तार भएसँगै यसलाई ‘जीवन निर्णायक’ परीक्षा मान्ने प्रवृत्ति घट्दो छ।
तर विरोधाभास के छ भने परीक्षा तयारी, व्यवस्थापन, प्रचारप्रसार र खर्च भने अझै ठूलो छ। कोचिङ, गाइड, अतिरिक्त कक्षा यी सबैले विद्यार्थी र अभिभावक दुवैलाई आर्थिक र मानसिक रूपमा दबाबमा पारिरहेका छन्।
यसरी हेर्दा एकातिर अभिभावकको सक्रियता र सहभागिता बढ्दो छ भने अर्कोतिर शिक्षा प्रणालीले सिर्जना गरेको दबाब पनि उस्तै गहिरो छ।
ओखलढुंगाको विगुटार परीक्षा केन्द्रमा देखिएको दृश्य केवल एक ठाउँको कथा होइन, यो जिल्लाभर र सम्भव त देशभर देखिने यथार्थको एउटा झलक हो। यहाँ निजी विद्यालयका अभिभावकको सक्रियता देखिन्छ भने सरकारी विद्यालयका अभिभावकको अनुपस्थितिपछाडिको बाध्यता पनि स्पष्ट देखिन्छ।
अन्ततः, शिक्षा केवल विद्यालयको जिम्मेवारी होइन। यो अभिभावक, समुदाय र राज्य सबैको साझा दायित्व हो। अभिभावकको भूमिका केवल बालबालिकालाई विद्यालय पठाउनेमा सीमित हुँदैन, उनीहरूको भावनात्मक, मानसिक र व्यवहारिक सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
तर त्यस्तो भूमिका निर्वाह गर्न सबै अभिभावकलाई समान अवसर छैन भन्ने यथार्थलाई पनि स्वीकार्नैपर्छ। जबसम्म आर्थिक, सामाजिक र संरचनागत असमानता कम हुँदैन, तबसम्म यस्ता दृश्यहरू दोहोरिइरहनेछन्।
त्यसैले समाधान दोषारोपणमा होइन, समझदारीमा खोजिनुपर्छ—अभिभावकको अवस्थालाई बुझ्ने, विद्यालय–अभिभावक सम्बन्ध सुदृढ गर्ने र सबै विद्यार्थीका लागि समान वातावरण सुनिश्चित गर्ने दिशामा। त्यसो हुन सके मात्र हरेक विद्यार्थीले आत्मविश्वासका साथ आफ्नो शैक्षिक यात्रा अघि बढाउन सक्छ।


