ओखलढुंगा । मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि ओखलढुंगामा पूर्वतयारीलाई तीव्र पार्ने निर्णय गरिएको छ । आज (मंगलबार) जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जनशक्ति, स्रोत–साधन र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउनेमा जोड दिएको हो।
प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका विभिन्न स्थानीय तह र सरकारी कार्यालयमा विपद् व्यवस्थापनका लागि भएका पूर्वतयारी, उपलब्ध स्रोत–साधन, जनशक्ति तथा बजेटको अवस्थाबारे समीक्षा गरिएको थियो। बैठकले मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान र आगलागी लगायतका घटनालाई लक्षित गर्दै उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राख्ने, आवश्यक उद्धार सामग्री तथा उपकरणको प्रभावकारी परिचालन सुनिश्चित गर्ने र सम्बन्धित निकायबीच समन्वयलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।
बैठकमा जिल्लाका विभिन्न स्थानमा पहिरो नियन्त्रण, खानेपानी आयोजना, सडक तथा अन्य पूर्वाधारमा देखिएका जोखिमका विषयमा समेत छलफल भएको थियो। बजेट अभावका कारण तत्काल समाधान गर्न नसकिएका समस्याका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक बजेट र स्रोत व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरिएको छ।
हालैको अविरल वर्षाका कारण सिद्धिचरण गाउँपालिकाका विभिन्न वडामा पुगेको क्षतिको मर्मत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, आगलागीबाट घर गुमाएका परिवारलाई प्रचलित मापदण्डअनुसार अस्थायी आवास निर्माणमा सहजीकरण गर्ने तथा विपद् प्रभावित परिवारलाई राहत वितरणलाई व्यवस्थित बनाउने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, जिल्लामा उपलब्ध विपद् उद्धार सामग्री आवश्यकताअनुसार स्थानीय तह तथा सुरक्षा निकायमार्फत परिचालन गर्ने, विपद् व्यवस्थापन कोषलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा मनसुन अवधिभर सबै सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरिएको छ।
समितिले मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्बाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी, शीघ्र उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।


