• २०८३, २१ असार आईतवार
0 COMMENTS

ओखलढुंगा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगामार्फत जिल्लाका विभिन्न स्थानमा सञ्चालित अनुदानमूलक कृषि योजना प्रभावकारी रहेको पाइएको छ।आर्थिक वर्ष २०८२/०८३ मा संचालन भएका उक्त योजनाहरु जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको टोलिले गरेको संयुक्त अनुगमनमा यस्तो पाइएको हो । सहभागी अनुगमन टोलीले अधिकांश योजना प्रभावकारी रहेको तथा त्यसबाट कृषकलाई प्रत्यक्ष लाभ पुगेको निष्कर्ष निकालेको छ।अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका उन्नत प्रविधिको बाख्राको खोर, आलु भण्डारण घर तथा अर्गानिक बिक्री केन्द्रलगायतका योजनाको स्थलगत अवलोकन गर्दै तिनको उपयोगिता, सञ्चालन अवस्था र सेवाग्राहीले प्राप्त गरेको लाभबारे जानकारी लिएको थियो।

योजनाहरू सञ्चालनमा आएपछि कृषकलाई उत्पादन व्यवस्थापन, भण्डारण तथा कृषि उपजको बजारीकरणमा सहजता पुगेको पाइएको छ ।अनुगमनका क्रममा अधिकांश संरचना उद्देश्यअनुरूप उपयोगमा रहेको, सरकारी अनुदानको सदुपयोग भएको र कृषि उत्पादनलाई व्यवसायिक तथा आधुनिक बनाउन यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याएको निष्कर्ष निकालिएको हो। स्थानीय कृषकहरूले समेत अनुदान कार्यक्रममार्फत प्राप्त संरचना तथा प्रविधिले कृषि तथा पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको अनुभव सुनाएका थिए।

कार्यक्रमअन्तर्गत निर्माण गरिएका संरचनाहरूले कृषकको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै उत्पादनको सुरक्षित भण्डारण, गुणस्तर संरक्षण र बजार पहुँच विस्तारमा समेत टेवा पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्। विशेषगरी आलु भण्डारण घरले उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत पुगेको, उन्नत प्रविधिको बाख्राको खोरले व्यवसायिक बाख्रापालनलाई सहज बनाएको तथा अर्गानिक बिक्री केन्द्रले स्थानीय उत्पादनको बजारीकरणमा सकारात्मक भूमिका खेलेको अनुगमनका क्रममा उल्लेख गरिएको थियो।

अनुगमनका क्रममा सहभागीहरूले यस्ता योजना केवल संरचना निर्माणमा सीमित नरही कृषकको आयआर्जन वृद्धि, कृषि व्यवसायको दिगोपना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिएका थिए। प्रभावकारी देखिएका कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै थप कृषकमैत्री बनाइनुपर्ने सुझावसमेत दिइएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाका प्रमुख हेमबहादुर आलेले सरकारले उपलब्ध गराएको अनुदान वास्तविक कृषकसम्म पुर्‍याई कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आम्दानी अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाले स्थलगत अनुगमनले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न, आवश्यक सुधारका पक्ष पहिचान गर्न तथा आगामी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने उल्लेख गरे ।साथै कृषकको आवश्यकता र स्थानीय सम्भावनालाई केन्द्रमा राखेर आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

अनुगमनमा प्राप्त निष्कर्षले सरकारी अनुदानमा सञ्चालित कृषि पूर्वाधार तथा प्रवर्द्धन कार्यक्रमहरू अपेक्षाअनुरूप प्रभावकारी बन्दै गएको देखाएको सहभागीहरूको भनाइ छ। यस्ता कार्यक्रमले कृषिलाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सरोकारवाला निकायहरूले प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र कृषकमैत्री सेवामा निरन्तर जोड दिएका छन्।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि अन्य सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!