ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगामा जिल्ला अधिवेशनलाई लिएर आन्तरिक विवाद देखिएको छ। जिल्ला कार्यसमितिका उपाध्यक्ष प्रमोद कुमार केसी सहित २१ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। तर, पार्टी परित्याग गर्नुको कारण भने उनीहरूले राजीनामा पत्रमा खुलाएका छैनन्।
जिल्ला उपाध्यक्ष केसीका अनुसार गत भदौ २४ गते राप्रपा ओखलढुंगाको जिल्ला अधिवेशन रुम्जाटारमा गरिएको थियो। उक्त अधिवेशनका विषयमा आफूहरू अर्थात् जिल्ला उपाध्यक्ष तथा अन्य पदाधिकारीलाई कुनै जानकारी नदिइएको र आवश्यक समन्वय तथा सहकार्य समेत नगरिएको उनको भनाइ छ।
केसीका अनुसार जिल्ला अध्यक्ष तथा राप्रपाका महामन्त्रीलगायतको निर्णयअनुसार आफूहरूलाई जानकारी नदिई अधिवेशन सम्पन्न गरिएको हो। अधिवेशनपछि पुरानै जिल्ला कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको जानकारी आफूहरूले पाएको तर उक्त निर्णयको आधिकारिक कागजात वा माइन्युट भने आफूहरूले नहेरेको केसीले बताएका छन्।
राप्रपा ओखलढुंगाको जिल्ला कार्यालय सदरमुकामस्थित रमाइलो डाँडामा छ। पार्टीका आवश्यक कागजात तथा स्ट्याम्पलगायत सामग्री कार्यालयमै रहे पनि अधिवेशनसम्बन्धी निर्णय वा माइन्युट आफूहरूलाई नदेखाइएको केसीको भनाइ छ । पार्टी परित्याग गर्नेमा प्रदेश समिति सदस्य वीरबहादुर बस्नेत, जिल्ला कार्यसमिति संगठन प्रमुख पुष्पराज पोखरेल, सचिव युबराज कार्की, सहसचिव नीरकुमार गिरी, जिल्ला कार्यसमिति सदस्य तथा पालिका प्रमुखहरू दीपबहादुर बस्नेत र जयप्रसाद दाहाल, महिला विभाग प्रमुख कमला खत्रीलगायत छन्।
त्यस्तै, जिल्ला कार्यसमिति सदस्यहरू पीपल कुमारी खत्री, वीरबहादुर खत्री, रामकाजी खत्री, रमेश खत्री, गोपाल खत्री, देवीबहादुर खत्री, शिवकुमारी कटवाल, अञ्जु मगर, बिन्दु अधिकारी र कुसुम विश्वकर्मा तथा वडा कार्यसमिति अध्यक्ष हेमप्रसाद दाहाल र वडा सदस्यहरू राजन दाहाल र महेन्द्र विशंखेलगायतले पार्टी परित्याग गरेको जनाइएको छ। उनीहरूले राजीनामा तथा पार्टी परित्यागसम्बन्धी निवेदन आज (शनिबार) जिल्ला पार्टी अध्यक्ष र महामन्त्रीलाई सामाजिक संजाल मार्फत पठाएको जानकारी दिएका छन्।




