काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सरकारी विद्यार्थीलाई स्वास्थ्य सेवामा निशुल्क तथा सहुलियत माग गरेको छ ।
बुधबार अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तसहितको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर ज्ञापन–पत्र बुझाएको हो ।
उक्त ज्ञापन–पत्रमार्फत सरकारी तथा सामुदायिक विद्यालय/क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अस्पतालहरूमा ओपिडी सेवा निःशुल्क गर्न र अन्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।
संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न माग गर्दै ज्ञापन–पत्रमा भनिएको छ, ‘प्रायः सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरु आर्थिक अभावमा बाँचेका गरिब, किसान, मजदूर र आर्थिक रुपमा विपन्न वर्गका छोराछोरीहरु हुन्छन् । जसले शैंक्षिक शुल्क समेत तिर्न सकेका हुँदैनन् । त्यसैले अनेरास्ववियू सम्पूर्ण सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओपिडी सेवा निशुल्क र अन्य सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने जोडदार माग गर्दछ ।’
स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नआओस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस् भन्दै अनेरास्ववियूले खबरदारी समेत गरेकाे छ।
न्युज २४ बाट साभार गरिएको ।