विएन श्रेष्ठ । १६ असोज, यसम । लिखु गाउँपालिकाको वडा नं. १ मा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं. २ स्थायी घर भएका वर्ष ३६ का कृष्ण पाण्डे रहेका छन् ।
शनिवार विहान दशैंको हटिया भर्न नजिकैको साघुँटार बजार झरेका शिक्षक पाण्डे चाडै घर फर्किएका थिए । घर चाडै फर्किएर सधै झै शनिवार पनि साथिहरुसँग बाख्रा लिएर बन गएका थिए । बाख्रा चराएर फर्किने क्रममा अन्य दुईजना साथिहरु बाख्रासँगै फर्किएका थिए । बाख्रा आएपनि पाण्डे भने आएनन् ।
बाख्रा आएपनि गोठालो गएका साथि पाण्डे नआएपछि साथिहरुले पाण्डेलाई फोन गरेका थिए । तिन चार पटकको प्रयास पश्चात पाण्डेले फोन रिसीभ गरेर आफु लडेर कोप्चे खोला छेउमा रहेको बताएका थिए । पाण्डेले आफु लडेको बताएपछि साथिहरुले गाउँलेलाई फोन गरेर उनीहरु पनि पाण्डेको खोजीमा पुगेका थिए । कोप्चे खोला लिखु गाउँपालिका वडा नं. १ को गैरी भन्ने ठाँउमा पर्दछ ।
स्थानीयको सहयोगमा पाण्डेलाई घटनास्थलवाट उद्धार गरि सडक सम्म ल्याएका थिए । उद्धार गर्दै गर्दा लडेर घाईते भएका पाण्डेको शरिरवाट बगेको रगत सुकिसकेको उद्धारमा सहभागी स्थानीयले बताएका छन् । गम्भिर घाईते भएका पाण्डेको अबस्था गम्भिर भएपछि उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टरको खोजी भएको थियो । तर हेलिकप्टर दशैंको व्यस्तता देखाउदै नआएपछि उपचारका लागि साघुँटार स्वास्थ्य चौकी तर्फ लगिएको थियो । घाईते पाण्डेलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको स्थानीय शिवराम खड्काले जानकारी दिए ।
लिखु गाउँपालिका वडा नं. २ हुलाकचौर, सिंहदेवी स्थायी घर भएका मृतक पाण्डे भिमसेन स्थान माद्यमिक विद्यालय नर्मदेश्वरका प्राथमिक विद्यालयका स्थायी शिक्षक हुन् । मृतक पाण्डेका एक श्रीमती र दुई छोरी रहेका छन् । शिक्षक पाण्डे नम्र स्वभावका, विद्यार्थी र अविभावकका मनमा बस्न सफल एक कुशल शिक्षक थिए ।